चलचित्रको रुपमा अब हिजो आजका कुरा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

नेपाली हास्य प्रधान टेलीसृँखलामा एउटा फरक इतिहाँस बनाएको ‘हिजो आजका कुरा’ अब चलचित्रको पर्दामा चलचित्रको रुपमा आउने भएको छ । हिजो आजका कुराका बरिष्ट परिकल्पनाकार, निर्देशक, लेखक तथा मुख्य कलाकार सन्तोष पन्तले ‘हिजो आजका कुरा’ अब चलचित्र निर्माण गर्ने भएका छन् ।

यो चलचित्रको राजधानीमा शुक्रबार एक समारोहबीच निर्माण घोषणा गरियो । हिजो आजका कुराका कलाकार साकार पन्तले चलचित्र हिजो आजका कुराको निर्देशन गर्दैछन् । यो चलचित्रको कथा बुबा सन्तोष पन्त र छोरा साकार पन्तले मिलेर तयार गरेका हुन् ।

चलचित्र हिजो आजका कुराको कथाबारे निर्देशक साकार पन्तले घोषणा समारोहमा भने,‘कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष, आतुरताजस्ता विषयलाई यो चलचित्रको कथा बनाईएको छ । हो हास्यप्रधान सामाजिक ड्रामामा निर्माण हुँदैछ ।’

निर्माता अभिनेता सन्तोष पन्तले आफ्नो यो हास्य टेली सृँखला २०६२/० ६३पछि विभिन्न कारणबाट नेपाल टेलिभिजनबाट बन्द भएको र दर्शकको चाहना अनुसार अब यसलाई चलचित्रको रुपमा ल्याउन लागिएको पनि बताए । टेली चलचित्र भन्दा यो फरक हुने पनि उनले जानकारी गराए । हिजो आजका कुरा निर्माण गर्दाका विभिन्न रमाईला घटना निर्माता अभिनेता सन्तोष पन्तले यो चलचित्रको घोषणा समारोहमा स्मरण गरे ।

आफ्नो यो चलचित्रबारे अभिनेता सन्तोष पन्तले भने,‘ अहिले नेपालीको दैनिकीमा विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमङ्ग र सँगै आउने कठिनाइहरुलाई हाँस्यास्पद रुपमा प्रस्तुत गर्नेछ । यो चलचित्रले अहिले विदेशमा बस्ने नेपालीको जीवनशैली, सामाजिक जीवनमा पर्ने वाध्यता, कठिनाई र परिवारको दबावलाई जीवन्त रुपमा प्रस्तुत गर्ने छ र यसमा आजभोली विदेशिने लहरको राम्रो र नराम्रो पक्षलाई देखाइन्छ ।’

यो फिल्मकी अभिनेत्री रमा थपलियाले पनि हिजो आजको कुरालाई टेली चलचित्रबाट चलचित्रको रुपमा ल्याउन पाउँदा खुसी लागेको बताईन् । लामो समयपछि फेरी हिजो आजका कुरामा काम गर्दा पाउँदा आफु उत्साहित भएको पनि उनले बताईन् ।

वरिष्ठ अभिनेता सन्तोष पन्तसँगै रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, हास्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, नवकलाकार विनायक कुइकेल, अनुष्का अधिकारीलगायतका कलाकारको यसमा अभिनय रहने छ ।

यस चलचित्रको सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय, छायाँकारमा रवि सायमी, सम्पादकमा बिनय कँसाकार रहेका छन् । फिल्मका लेखकमा अभिनेता सन्तोष पन्त, निर्देशक साकार पन्तसँगै सन्दीप किस्ना रहेका छन् ।