कलाकारले समय नदिँदा पोई पर्यो कालेलाई तनाव


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज

प्रदर्शनको समय एक साता बाँकी रहँदा सम्बन्धित कलाकारले प्रचार प्रचारमा समय नदिएको भन्दै चलचित्र पोई पर्यो कालेको निर्माताहरुले अहिले दुःख व्यक्त गरेका छन् । चलचित्रका दुई कलाकार बिदेशमा हुनु, एक नायिका छायाँकनमा व्यस्त रहनु र बाँकी एक नायकले पनि प्रचारमा खुलेर समय नदिनुले निर्माताहरु दुःखी भएका हुन् ।

यो चलचित्रकी नायिका पूजा शर्मा यतीबेला नयाँ चलचित्र म यस्तो गीत गाउँछु २ को छायाँकनमा छन् । दुई दिन अघि केही सिमित युट्युव च्यानलमा अभिनेता आकाश श्रेष्ठसँग यी अभिनेत्रीले अन्तरवार्ता दिए पनि फिल्मको छायाँकनको कारण उनले पोई पर्यो कालेको दैनिक प्रचारमा पूर्ण समय दिन सकेकी छैनन् ।

अभिनेत्री पूजा शर्मा चलचित्र प्रदर्शनको सँघारमा आफ्नै गृह व्यानरको चलचित्रको छायाँकनमा व्यस्त भएपछि एक्लो भएका कारण अभिनेता आकाश श्रेष्ठले पनि प्रचारमा खुलेरसमय दिएका छैनन् । यता यो फिल्ममा कालेको भूमिका निर्वाह गरेका अभिनेता सौगात मल्ल यतीबेला बेलायतमा छन् । उनी दशैं अघि नै चलचित्र पोई पर्यो कालेकी नायिका तथा आफ्नी प्रेमिका सृष्टी श्रेष्ठसँग बेलायत गएका हुन् । बेलायत जानु अघि हतारमा यी दुईले सिमित युट्युव च्यानलमा अन्तरवार्ता दिए पनि राष्ट्रिय दैनिक र राष्ट्रिय टेलिभिजन तथा अनलाईन मिडियामा यी दुईले अन्तरवार्ता दिन भ्याएनन् । उनीहरु अब फिल्म रिलिजको समयमा मात्र नेपाल आउने छन् ।

यता नेपालमै रहेका अभिनेता आकाश र अभिनेत्री पूजाले पनि राष्ट्रिय सञ्चार माध्यममा फिल्मका बारे आफ्ना बिचार राख्न भ्याएका छैनन् । उनीहरुले यो फिल्मको प्रचारका लागि मोफसल यात्रा पनि गर्न सकेका छैनन् । जसका कारण आफुहरुले चाहेर पनि फिल्मको प्रचारमा कलाकारले समय नदिँदा नभएको निर्माण पक्षको गुनासो छ । चलचित्रका निर्देशक शिशिर राणाले पनि यो कुरालाई मनन गरेका छन् ।

८ कात्तिकमै अर्को नेपाली चलचित्र घामड शेरे र प्रभावशाली भनिएको हिन्दी फिल्म हाउसफुल ४ रिलिज हुने भएपछि पोई पर्यो कालेको प्रचारबारे यो फिल्मका निर्माण पक्ष चिन्तित भएका हुन् ।