दीपकलाई चुनाव नजिताएको माधव नेपाललाई मन परेन


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता माधव कुमार नेपालले चलचित्र ६ मायाँ छपक्कै हेरेर यो चलचित्रको टिप्पणीसँग प्रसँसा पनि गरेका छन् । फिल्मको समापनमा अभिनेता दीपकराज गिरीलाई राजनीतिक दृष्टिकोणबाट पतन गराएको प्रसँग नेपाललाई मन नपरेको हो ।

पूर्व प्रधानमन्त्री नेपालले बुधबार बेलुका काठमाडौंको जयनेपाल सिनेमा हलमा चलचित्र ६ मायाँ छपक्कै हेरेपछि उनले फिल्मको टिप्पणी गरेका छन् । फिल्ममा अभिनेता दीपकराज गिरी (कमरेड बिपी)लाई लोकप्रिय नेता बनाएर जनताको चाहना अनुसार उनलाई अन्तिममा चुनावमा उतारेर जिताउनु पथ्र्यो भन्ने पूर्व प्रधानमन्त्री नेपालको सुझाब छ ।

पूर्व प्रधानमन्त्री नेपालले बुधबार बेलुका ६ मायाँ छपक्कै हेरेपछि सञ्चारकर्मीसँग भने,‘बिगतको इतिहाँसका प्रसँगहरुलाई हेर्दा खेरी त्यसको समीक्षा गर्नु पर्ने पाटोे पक्कै पनि हो, राजनीतिको त्यो मात्र तस्बिर हैन, त्यसको एउटा पाटो चैं हो, समाजको सबै पक्षहरुको दुईटा पाटाहरु छन् । त्यो राजनीतिको पनि छ । समाजका विभिन्न वर्ग र तह जनतासँग संस्थाहरुको पनि छ । राजनीतिमा लाग्ने व्यक्तिहरुको पनि छ । यसलाई एकदम जेनरलाईज गरिहाल्नु हुँदैन । तर पनि राजनीतिका र समाजका बिकृति बिसँगतिहरु अझै हामीले राम्ररी उत्खनन् गर्नु पर्नेमा त्यहाँ अलिकति मिलाएको भए जनतामा एकदम लोकप्रिय भएको उम्मेदवारलाई जिताएर देखाईदिएको भए सबैको निम्ति अली राम्रो र स्वादिलो हुन्थ्यो ।’

जनतामा लोकप्रिय भएको चरित्र (बिपी)ले जितेको भए फिल्ममाथि पूर्ण न्याय हुने भनाई उनले राखे । आखिर गाउँलेलाई पानीको लागि सँघर्ष गरेका बिपीले सवै नेतासँग गरेको सम्झौतापछि उनको तीन दशक लामो राजनीतिक सँघर्षलाई फिल्ममा तुवाईएको प्रसँग पूर्व प्रधानमन्त्री नेपाललाई ठिक लागेन । उनको दृष्टिकोणमा बिपीको चरित्रमाथि फिल्मको अन्त्यमा अन्याय भयो ।

यद्यपि आफुलाई यो फिल्म मन परेको पूर्व प्रधानमन्त्री नेपालले बताए । उनले यसरी टिप्पणीसँगै फिल्मको प्रसँसा पनि गर्दै भने,‘कथानक चैं मिलाउनु पर्ने हो, त्यो अलिक मिलाको लागेन मलाई । कतीपय कुरा सहि पनि छन् ।’