इनासमा अवार्ड : बिपिन बेस्ट नायक, स्वस्तिमा बेस्ट नायिका


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

सोमबार बेलुका काठमाडौंमा छैटौं संस्करणको ‘इनास नेपाली फिल्म अवार्ड–२०१९’ आयोजना गरियो । पछिल्लो समय नेपालमा अवार्ड गर्ने क्रम मौलाएको छ । यसै क्रममा नेपाल बाहिर छरिएर रहेका नेपाली कलाकारहरुको संस्था ‘अन्तराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास)ले सोमबार काठमाडौंमा छैटौं संस्करणको ‘इनास नेपाली फिल्म अवार्ड–२०१९’ आयोजना गरेको हो । गत वर्ष यो अवार्ड रोकिएको भए पनि यसपाली आयोजना गरिएको हो ।

२०७५ सालमा रिलिज भएका चलचित्रहरुबाट विभिन्न ११ विधामा इनास नेपाली फिल्म अवार्ड प्रदान गरियो । जस अन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘प्रसाद’बाट अभिनेता विपिन कार्कीलाई प्रदान गरियो । दुई ओटा फिल्मबाट अवार्डमा मनोनयन भएर अवार्ड पाउँदा पनि बिपिन कार्यक्रममा उपस्थित भएनन् ।

यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले प्राप्त गरिन् । चलचित्र बुलबुल यो वर्षको उत्कृष्ट फिल्म घोषणा भयो । यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड बिनोद पौडेलले जिते ।

चलचित्र छक्का पञ्जा ३ले कार्यक्रममा ३ ओटा अवार्ड भयो । छक्का पञ्जा ३ बाट निर्देशक दीपाश्री निरौलालाई जुरी अवार्ड प्रदान गरियो । तर उनी अवार्ड समारोहमा उपस्थित भईनन् । यस्तै उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र छक्का पञ्जा ३ बाटै पुरुषोत्तम प्रधानले पाए । सोही क्रममा उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र छक्का पञ्जा ३ कै गीत पहिलो नम्बरमाबाट दीपक शर्माले हाँसिल गरे । दीपक शर्मा पनि अवार्ड समारोहमा अनुपस्थित रहे । अनुपस्थित सिनेकर्मीहरुको अवार्ड आयोजकले नै कार्यक्रममा ग्रहण गर्नु परेको थियो । कार्यक्रममा चलचित्र गोपीबाट दीपेन्द्र लामालाई जुरी अवार्ड प्रदान गरिएको थियो ।

यस्तै उत्कृष्ट पटकथाको अवार्ड चलचित्र प्रसादबाट सञ्चारकर्मी शुशिल पौडेलले प्राप्त गरे । कार्यक्रममा पत्रकार शुशिल पौडल पनि उपस्थित भएनन् । सोही क्रममा उत्कृष्ट चलचित्र सम्पादकको अवार्ड चलचित्र सांईलीबाट निमेष श्रेष्ठले पाए । उनी पनि अवार्डमा नआएपछि उनको अवार्ड समेत आयोजकले थाप्न पर्यो ।

यस्तै, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र भैरेको गीत सान्नीलाई…को नृत्यबाट कविराज गहतराजले प्राप्त गरे । यस्तै गायन तर्फ उत्कृष्ट गायक र गायिकाको अवार्ड चलचित्र रोजको गीत फुल हैन…बाट गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले हाँसिल गरे । कार्यक्रममा प्रविशा पनि आईनन् । प्रविशाको अवार्ड समेत प्रताव दासले थापिदिए ।

सोही कार्यक्रममा बरिष्ट सँगीतकार रञ्जित गजमेरलाई ‘इनास लाफई टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । दर्जनौ नेपाली चलचित्रमा कालजायी सँगीत गरेको गजमेरले नेपाली सँगीत क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप यो आजिवन योगदान सम्मानबाट सम्मानित गरिएको हो ।

दिवँगत पत्नी कुसुम गजमेरको प्रेरणा, सँगै उनका मिठो गीत लेखन र नेपालीहरुको मायाँले आफु सँगीत गर्न सफल भएको गजमेरले बताए । सम्मानित हुँदा उनले दिबँगत पत्नीलाई सम्झँदै भावुक भए ।

७० देशमा साखा रहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्डलाई आगामी दिनमा अझ भव्यसँग आयोजना गर्ने समाजका संस्थापक अध्यक्ष पुष्प बरुवालले बताए । समाजको विभिन्न चार देशका समितिलाई कार्यक्रममा सम्मानित गरियो ।

जस अन्तर्गत इनास बेस्ट कन्टिनेन्टल अवार्ड युरोपबाट अर्जुैन काफ्लेलाई, इनास बेस्ट स्टेट किमटी अवार्ड अमेरिकाको कन्टुकी राज्यबाट सावु गदाल कार्कीलाई, इनास नेशनल अवार्ड युएईबाट घनश्याम तिमिल्सिनालाई, इनास युवा साहित्य पुरस्कार सुरेन्द्र महर्जनलाई प्रदान गरियो ।

बिदेशमा रहेका नेपाली कलाकारहरुले आफ्नो देशको चलचित्र, गीत सँगीत, साहित्यको सँरक्षणको लागि गोलबद्ध भएर यस्तो अवार्ड गर्नु सराहनीय कार्य भएको अग्रज निर्देशक कलाकार नीर शाहले बताए ।

आईतबारमात्र अध्यक्षमा चुनिएकी इनसकी ग्लोबल अध्यक्ष कमला दाहालले इनासको बारेमा कार्यक्रममा जानकारी गराएकी थिईन् ।