ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

बिगत एक दशकदेखि भोजपुरी फिल्ममा समय दिएका अभिनेता बिराज भट्ट यतीबेला आफैं निर्माता बनेर नेपाली चलचित्रमा फर्किएका छन् । भोजपुरी फिल्मका भारतीय हिरोहरुको सिन्डिकेटका कारण भोजपुरी फिल्ममा बिराजको बजार पछिल्लो समय केही खस्किएको थियो । जसका कारण उनले सुरुको भन्दा कम पारिश्रमिकमा काम गर्नु पर्ने अबस्था आएको थियो । तसर्थ उनी फेरी नेपाली चलचित्रतर्फ नै फोकस हुन थालेका छन् ।

बिराज भन्दा अघि नै भारत छिरेर सँघर्ष गरे पनि अभिनेता निखिल उप्रेती त्यहाँ बिराज जसरी स्थापित हुन सकेनन् । परिणाम स्वरुप आधा दशक अघि नै नेपाल आएर फिल्म भैरब मार्फत उनी निर्माणमा फर्किए । यिनै अभिनेता निखिलसँग पछिल्लो समय फिल्म छैन । बिस्तारै निखिल नेपाली चलचित्र क्षेत्रमा काम बिहिन हुने अबस्था आईरहेको छ । तथापि उनी भैरब २ को निर्माण गर्दै छन भन्ने चर्चा छ ।

तर बिराज भने निर्माताको रुपमा नेपाली चलचित्रमा प्रस्तुत भएका छन् । हुन त चार वर्ष अघि नै रोज राणाको निर्देशनमा बनेको फिल्म जय पर्शुरामबाट उनी फेरी नेपाली चलचित्रको अभिनयमा फर्किएका हुन् । तर त्यो फिल्मले राम्रो व्यापार गरेन । भनेको जस्तो बाहिनी नेपाली चलचित्र नपाएपछि यतीबेला बिराज आफैं निर्माताको रुपमा आएका हुन् । अहिले बिराज आफैंले नयाँ फिल्म साङ्लो निर्माण गरेका छन् । एक्सनप्रधान यो फिल्ममा बिराज आफैं मुख्य अभिनेतामा छन् ।

चलचित्र साङ्लोको रिलिज मिति ९ फागुन तय गरिएको छ । यो फिल्मका उनी निर्माता र अभिनेतासँगै निर्देशक पनि हुन् । फिल्मको पोष्टर उनले हालै सार्वजनिक गरेका छन् । यो फिल्म एक्सन प्रधान बनेको छ । फिल्म कस्तो चल्छ । त्यो हेर्न भने अझै पाँच महिना कुर्नु पर्ने हुन्छ ।