कलाकार संघको दशैंमा चार हजार लगानीमा ३५ हजार फाईदा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

नेपाल चलचित्र कलाकार संघका आयोजनामा काठमाडौंमा शुक्रबार दशैंको शुभकामना आदनप्रदान तथा टीका कार्यक्रम आयोजना गरियो । बरिष्ट चलचित्र निर्देशक एवम् गीतकार यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संघका पदाधिकारीले अग्रजबाट दशैंको टीका र जमारा ग्रहण गर्दै आपसमा शुभकामना आदन प्रदान गरे ।

कार्यक्रममा बरिष्ट निर्देशक यादब खरेलले संघका अध्यक्ष रबिन्द्र खड्कालाई टीका लगाएर आशिष दिए । त्यसपछि यादब खरेलसहित बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी, संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, अभिनेता कृष्ण मल्लसहितका सिनेकर्मीहरुले कलाकारलाई दशैंको टीका लगाएर आशिष दिए । सो क्रममा संघका तर्फबाट टीका लगाएर जनही ३१ रुपैयाँसम्म दक्षिणा दिईयो ।

सो दक्षिणामा कलाकारहरुले पैसा थपेर संघलाई प्रदान गरेको थिए । जसबाट करिब ४ हजार रुपैयाँ दक्षिणा कलाकारलाई दिईएकोमा कलाकारबाट उल्टै सहयोग स्वरुप संघलाई ३५ हजार रुपैयाँ प्राप्त भयो । कार्यक्रममा चर्चित अनुहारको उपस्थित खास्सै नभए पनि संघका पदाधिकारी सहित अभिनेता धिरेन शाक्य, अभिनेत्री रिया श्रेष्ठलगायतका कलाकारहरु थिए ।

कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले छोटो समयमा गरिएको कार्यक्रम निकै सफल भएको बताए । अब अर्को वर्षबाट यो शुभकामना आदन प्रदान कार्यक्रमलाई अझ भव्य रुपमा आयोजना गर्ने पनि अध्यक्ष खड्काले कार्यक्रममा बताए ।