चित्रकलामा सिन्धुली गढी युद्धको कथा


ब्युटी न्युज नेपाल
सिन्धुलीगढी, १८ असोज

सिन्धुलीगढीमा चित्रकला शिविर आयोजना गरिएको छ । भग्नावसेज बनेको यो गढीलाई चित्रकारहरुले पहिलाको अबस्थाको कल्पना गरेर क्यानभासमा उतारेका छन् ।

कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगार्थ आएको इष्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई गोर्खालीले हराएको दिनको सम्झनामा यो चित्रकला कार्यक्रम गरिएको हो ।

समृद्ध सिन्धुली अभियानद्वारा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा असोज १४ गतेदेखि चार दिनसम्म गढी क्षेत्रमा चित्रकला शिविर आयोजना गरियो । यो शिविरमा ऐतिहासिक ठूलोगढी, सानोगढी, पौवागढी, किल्ला, दरबार र त्यस वरपरका सम्पदा क्षेत्रलाई चित्रकलामा उतारिएको थियो ।

सिन्धुलीगढी कला शिविरका संयोजक दीपक श्रेष्ठका अनुसार, असोज १४ गतेदेखि १७ गतेसम्म गढीमा आयोजित शिविरमा आठ जना कलाकारको सहभागिता रहेको थियो ।

विक्रम संवत १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन कप्तान किनलकको नेतृत्वमा आएको दुईहजार चार सय अंग्रेज फौजलाई गोर्खालीेले सिन्धुलीगढीमा बरबाद पारेका थिए । सो शिविरको प्रदेश सभा सदस्य विनोद खड्काले उद्घाटन गर्नुभएको थियो ।

कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोष्टकार्ड, क्यालेन्डर आदि सामग्री तयार गर्न प्रयोग गरिने जनाइएको छ । शिविरमा कलाकार तथा प्राज्ञ सुषमा राजभण्डारी, सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, अंशु थापा मगर, सुदिप विशंखे, अनुस खाइजूको सहभागिता रहेको थियो ।

सिन्धुलीगढीको प्रवद्र्धनमा समृद्ध सिन्धुली अभियानले हरेक वर्ष राइड टु सिन्धुलीगढी साइकल यात्रा र गढीलाई जोड्दै एकीकरण पदयात्राको अभियानसमेत सञ्चालन गर्दैआएको छ ।