दशैंका मुखमा मोफसल यात्रामा बादशाह जुट युनिट


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

कार्तिक १५ देखि सिनेमा हलमा आउने चलचित्र ‘बादशाह जुट’को युनिट यतिबेला दशैंमा मुखमा मोफसल यात्रामा छ ।
निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर यस टुरमा छन् ।यसै क्रममा यो चलचित्रको युनिटले हेटौडा र चितवनमा सिनेमा सम्वन्धि कार्यक्रम गरेको छ ।

हेटौंडामा शुक्रबार प्रेसमिट गरेर चितवन पुगेको युनिटले त्यहाँ पनि प्रेस मिट गरेको छ । चितवन प्रेसमिटमा यसै सिनेमाबाट निर्देशनमा डेब्यु गरेका जोनी सिंहले पहिलो खुड्किलोमा आफुले शतप्रतिशत लागि परेर काम गरेको बताए ।
‘सिनेमामा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गएका छौँ । कहिँ कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्देन ।’ सिंहले भने ।

निर्माता हर्कबहादुरले भने ’यी दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो खालको काम गर्नुपर्छ भन्ने कुरा सिनेमाले देखाउन खोजेको छ ।’ देशको अराजक राजनीतिदेखि दिक्क भएका नेपालीलाई बादशाह जुटले २ घण्टा भए पनि मनोरंजन दिने विश्वास लिएको उनले बताए ।

अभिनेता श्रेष्ठले सिनेमामा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला सिनेमा भन्दा फरक र बलियो भूमिका भएकाले बादशाह जुटको लागि कडा मेहनत गरेको दावी गरे । राम्रो सिनेमामा दर्शकले रुचाइदिने आशा व्यक्त गर्दै एकपटक हलसम्म पुगीदीन आग्रह गरे । सिनेमामा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

मुम्बईमा बस्दै गर्दा नेपाली सिनेमामा डेब्यु गरेकी केइशाले बादशाह जुटको स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन ।
अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएको दाबी गरिन् । प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन ।

शुक्रबार साँझ सिनेमा युनिटले नारायणी नदी किनारमा कन्सर्ट पनि आयोजना गरेको थियो । दार्जि्लिङको चर्चित तथा लेजेन्ड्री ब्याण्ड मन्त्र ब्याण्डसँगको सहकार्यमा यो कन्सर्ट समापन गरिएको थियो ।

सिनेमामा प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ । यसमा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा कृष्ण भारद्वाज, कोशिस क्षत्री र मोहित मुनालको संगीत, उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन निर्देशन, दिर्घ खड्काको सम्पादन छ ।