६ मायाँ छपक्कै अघि सार्न हलवालाको दवाव


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

चलचित्र ६ मायाँ छपक्कै यसपटक २४ असोजमा रिलिज हुँदैछ । दुई दिन अघि नेपालमा आएको बलिउड फिल्म ‘वार’को भारतीय राष्ट्रबाद विषयका कारण नेपालमा व्यापार त्यतीराम्रो छैन । यस अघि रिलिज भएको फिल्म कबड्डी कबड्डी कबड्डी तेश्रो सातामा र रातो टीका निधारमा दोश्रो सातामा प्रदर्शन भईरहँदा यी दुई फिल्मको व्यापार घटेको छ ।

यसपटकको दशैंमा फिल्म वारले नेपालमा भनेको जस्तो राम्रो व्यापार गर्न नसकेपछि हल सञ्चालकहरुले चलचित्र ६ मायाँ छपक्कैलाई २४ असोज भन्दा तीन दिन अघि नै टीकाको दिन रिलिज गर्न दवाव दिईरहेका छन् ।

नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैंमा यतीबेला हिन्दी फिल्म वार र अँग्रेजी फिल्म जोकर रिलिज गरेपछि दशैंको बिदामा नयाँ रिलिज नेपाली चलचित्र हेर्न नपाएको दर्शकको गुनासो छ । दशैंमा दुई ओटा नयाँ नेपाली फिल्म रिलिज भएपनि त्यी दुबै फिल्म चर्चामा नआएका सिनेमा हुन् । सोही कारण हलमा दर्शक कम छन् । केही मल्टिप्लेक्स बाहेक दशैंमा हलमा दर्शक छैनन् । तसर्थ हल सञ्चालकहरुले फिल्म ६ मायाँ छपक्कैलाई टीकाकै दिन रिलिज गर्न दवाव दिईरहेको छ ।

के ६ मायाँ छपक्कै तीन दिन अघि आउँछ त भन्ने जिज्ञाँसामा निर्माता अभिनेता दीपकराज गिरीले भने,‘दशैंमा टीकाको दिन पनि फिल्म रिलिज गर्न मिल्ने प्रावधान भएर पनि हामीले चलचित्र प्रदर्शनको नियम अनुसार शुक्रबारकै दिन २४ असोज रोजेका हौं । २४ असोजमा मात्र हलमा फिल्म रिलिज गर्ने भनेर यतीधेरै प्रचार गरेका कारण अब ६ मायाँ छपक्कै २४ असोजमै रिलिज हुन्छ ।’ त्यो भन्दा अघि आफ्नो चलचित्र रिलिज नहुने उनले प्रस्ट पारे ।

६ मायाँ छपक्कैमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, बुद्दी तामाङ, रजनी गुरुङ, शिशिर वाङदेल, रमा थपलीया, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, सारदा गिरी, दीपक क्षत्री, बसन्त भट्ट, सुनिता गौतमलगायतको मुख्य भूमिका छ ।

दीपेन्द्र लामा निर्देशित यो चलचित्रको निर्मातामा रोहित अधिकारी, कार्यकारी निर्मातामा केदार घिमिरे, जितु नेपाल र सह निर्मातामा सुमन गिरी ‘भाञ्जा’, ताराचन्द्र बजगाई, दीपेन्द्र खनियाँ, केशब न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी छन् । यो चलचित्रमा दीपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा छिन् । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् ।