पोई पर्यो कालेको ट्रेलर कमेडी र सस्पेन्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असोज

आगामी ८ कात्तिकमा रिलिज हुने चलचित्र ‘पोई पर्यो काले’को कमेडी, सस्पेन्स र भावनाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । चलचित्रको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ । चलचित्र ‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ ।
चलचित्रमा लालबहादुर क्षत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन छ ।

तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।