साँखुको सौन्दर्य चित्र र कवितामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज

‘जेसुम अभियान’ ले एक बर्ष पुरा गरेको छ । त्यतिबेला कला, साहित्य र रंगमञ्चमार्फत स्थानिय संस्कृति, सम्पदा र विषयबस्तु उजागर गर्ने उदेष्य सहित केही कवि, चित्रकार र रंगकर्मीहरुले यो यात्रा थालेका थिए । यो अभियानको दशौ श्रृंखला उत्तरी काठमाडौंको सुन्दर शहर साँखुमा सम्पन्न भएको छ । श्रष्टाहरुलो हाइकिङ गर्दै त्यहाँको सौन्दर्य चित्र र कवितामा उतारेका छन् ।

कलाकार र कविहरु शनिबार हाइकिङ गर्दै विभिन्न कला र साहित्य सिर्जना गर्ने यो अभियान लिएर  साँखु पुग्दा स्थानियले स्वागत गरेका थिए । शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ र वडाध्याक्ष्य हितमान तामाङले आफ्नो थातथलोमा स्रष्टाहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

स्रष्टाहरुलाई मेयर श्रेष्ठले टिका र खादा लगाइदिएपछि शुरु भएको यात्रा सालीनदी, माधवनारायणको मन्दिरहुँदै पुराना साँखु बजारबाट बज्रयोगिनी मन्दिरतर्फ अघि बढेको थियो । भुइँचालोबाट उठ्दै गरेको पुरानो साँखु बजार पुग्दा स्रष्टाहरु छक्क परेका थिए ।

देउतालाई स्वागत गर्ने र मृत्यु संस्कारमा प्रयोग गर्ने ढोका पनि भिन्नाभिन्नै । कलाकार र बुहारी भित्र्याउने भिन्नै ढोका, छोरी अन्माउने अर्कै । बीचमा झुरुप्प बस्ती, मन्दिर, डबली र कलात्मक घरहरू । ‘तिब्बत जान हिँडेको हात्तीको सालिक पनि छ यहाँ’ संस्कृतिविद प्रकाशमान भन्दै थिए । उनका अनुसार बज्रयोगिनी मन्दिर स्थापना भएको बेला मञ्जुश्रीले चोभारको डाँडो काटेकै थिएन भन्ने मिथक छ स्थानियमा । यिनै मिथकीय कथा, सम्पदा र संस्कृति खोतल्दै स्रष्टाहरु बज्रयोगिनी मन्दिर पुगे ।

सांस्कृतिक सम्पदाका अनेक पक्षलाई चित्रकारहरूले क्यानभासमा उतार्दै गर्दा कवि र लेखकहरूले डायरी कोरे । घुम्ती प्रदर्शनी गर्दै तल ओर्लेर नगरपालिकाको सभाहलमा सिर्जना सुनाए । चित्रकार दीपेन्द्रमान बनेपालीले बज्रयोगिनीकै मन्दिरको प्रत्यक्ष दृश्यचित्र उतारे । कृष्णगोपाल श्रेष्ठ मन्दिरमाथिको चोकमा रहेको पुरानो हिटीभित्र पसे । उनले खिइँदै गइरहेको ढुंगेधारालाई चित्रको विषय बनाए ।

संस्कृतिविद प्रकाशमान सकोका अनुसार लिच्छविकाल भन्दा अगाडिको मानिने यो ढुंगेधाराको स्वरूप पहिले अर्कै थियो । समयक्रममा बदलियो । ‘पहिले यो धारामाथि ठूलो सिंहले एउटा जनावर च्यापिरहेको र उक्त जनवारले चाहिँ न्याउरी मुसा च्यापिरहेको देखिन्थ्यो’, उनले भने, ‘अहिले यसको स्वरुप हरायो ।’

कृष्णगोपालसँगै चित्रकारहरू अमुल्य डंगोल र स्वयल श्रेष्ठले पनि बज्रयोगिनीमा रहेको बुद्धको मुहारचित्रदेखि मन्दिरका टुँडालसम्म कलामा उतार्न भ्याए । साँखुको ऐतिहासिक–सांस्कृतिक पक्षबारे बोल्दै मेयर श्रेष्ठले भुकम्पको पीडाबाट भर्खरै उठ्दै गएको साँखुले आफ्नो मौलिक पहिचान जोगाउने प्रयास गरिरहेको बताए ।

 संस्कृतिविद प्रकाशमान सकोले हाइकिङ क्रममा स्रष्टाहरूलाई विभिन्न शिलापत्र, तामपत्रलगायतका सन्दर्भहरू बताएका थिए । उनले ‘मणिशैल महाबदान’ ग्रन्थमा उल्लेख भएर अनुसार साँखुको बस्ती ३३ सय वर्ष पुरानो भएको र शिलालेखहरूले पनि त्यो पुष्टि गर्ने बताए । ‘साँखुको पुरानो नाम सको हो’, उनले भने, ‘नेवार भाषामा यसको अर्थ तिब्बतमुनिको देश भन्ने लाग्छ ।’

यो जेसुम यात्राको दसौं शृंखला हो । जेसुम संयोजक अनिता लामाले मुलुकका विभिन्न थलोमा स्थलगत सिर्जना गरिएको चित्रहरूको छिट्टै एकमुष्ट प्रदर्शनी र कविताहरूको पुस्तक प्रकाशन गर्ने योजना रहेको सुनाइन ।

दिनभर कविहरूले कोरेका रचना भने साँझ नगरपालिका हलमा सुनाएका थिए । कवि छविरमण सिलवालले साँखुको वर्णन गर्दै ‘अदृश्य ईश्वरको नाममा’ रचना सुनाए । जेसुम संयोजक एवं कवि अनिता लामाले आधुनिकताको नाममा सभ्यतामाथि हुँदै आएको प्रहारलाई ‘सभ्यताको ट्राजेडी’ कवितामा समेटिन ।

फूलमान वलले उपत्यकाको पानी सुक्नु अघिको परिकल्पना गर्दै चोभारमा मञ्जुश्रीले खड्ग हानेर बस्ती बसालेदेखि अहिलेको वेथितिलाई जोडेर कविता सुनाए । गणेश बुढाले ‘नयाँ युगको नयाँ चित्र’ भन्दै साँखुको बौद्ध र हिन्दु सम्पदा दुवैको वर्णन गरे । सगरमाथा आहोरीसमेत रहेकी कवि एवं अभिनेत्री रोजिता बज्राचार्यले पुरानो संझनासँग अहिलेको चेतना जोडेर आफ्नो मौलिक पहिचानको वकालत गरिन ।

धर्मानन्द भट्ट, रामेश्वर श्रेष्ठ, मंगल बाडे, रामकृष्ण सिंह, मुकुन्द पौडेल, शंकर सन श्रेष्ठ लगायतले कविता सुनाए । मेयर, उपमेयर र वडा अध्यक्ष हितमान तामाङले स्थानिय सांस्कृतिक पहिचान बचाउन आफूहरू लागिपरेको र स्रष्टाहरूको सिर्जनामा सकारात्मक सन्देश भेटिएको बताए ।