१५ कात्तिकमा बादशाह जुट, आयो ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज

गत वर्ष फागुनमै रिलिज हुने घोषणा गरिएको चलचित्र ‘बादशाह जुट’ कात्तिक १५ बाट सिनेमा हलमा आउने भएको छ । यो मितिमा भने पक्का रिलिज हुने निर्माण पक्षले बताएको छ ।
यो चलचित्रको ट्रेलर सोमबार काठमाडौंको बानेश्वरमा रहेको वान सिनेमा हलमा रिलिज गरियो ।

ट्रेलर रिलिज समारोहमा कलाकारहरु तोकिएको भन्दा डेढ घन्टा ढिला आएपछि उनीहरुले कार्यक्रममा पत्रकारको हप्की खानु परेको थियो । पत्रकारहरुले आफुहरुले हेपेर नै जतिबेला आए पनि हुन्छ भनेर विरोध गरेपछि नायक नायिकाहरुले सो कार्यक्रममा पत्रकारसँग माफी समेत माग्नु परेको थियो ।

यो चलचित्रलाई जोनी सिंह रानाले निर्देशन गरेको हुन् । यो चलचित्रमा अभिनेता सुशील श्रेष्ठ पत्रकारको भूमिकामा र आमिर गौतम प्रहरी अफिसरको भूमिकामा छन् ।
एक मिसनमा हिँडेका दुवैले आफूलाई बादशाह मानेको ट्रेलरमा उल्लेख छ ।

सिनेमामा रोविन तामाङ, रोशी खड्का, केइसा रावत, रश्मि पाण्डे, दीपक क्षत्री, कमलमणि नेपाललगायतको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

आफ्नो भूमिकाबारे अभिनेता सुशील श्रेष्ठले भने, ‘सिनेमामा मेरो च्यालेन्जिङ भूमिका छ । अहिलेसम्म यस्तोे भूमिकामा कुनै पनि निर्देशकले अफर गरेका थिएनन् ।’ दर्शकले लामो समयपश्चात् आफ्नो आगमनलाई रुचाइदिने आशा लिएको सुशीलले बताए ।

नव अभिनेत्री केइसा रावतले यो आफ्नो पहिलो चलचित्र भएकाले आफू उत्साहित भएको बताइन् । निर्देशक जोनी सिंह रानाले यो चलचित्रमा केही नयाँ खुराक पस्किने जमर्को गरेको बताए ।

यो चलचित्रलाई हर्कबहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले संयुक्त निर्माण गरेका हुन् । अभिषेक शशि कुमारको लेखन, उत्तम हुमागाईंको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोसिस क्षत्री र मोहित मुनालको संगीत यसमा छ ।