एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई अन्तराष्ट्रिय अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

सन् २०१८ को ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड’ एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपालले पाएको छ । दक्षिण कोरियाको छनानमा आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को हालै सम्पन्न कार्यकारी समितिको मिटिङले यो सम्मान प्रदानको घोषणा गरेको हो । कार्यक्रममा अध्यक्ष रामचन्द्र कोइरालालाई पनि समितिले सम्मानित गर्ने निर्णय गरेको छ ।

फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) दक्षिण कोरियाको छनान शहरमा छ । यस संस्थामा हालसम्म संसारका ९२ मुलुकहरू सदस्य भइसकेको रामचन्द्रले जानकारी गराए ।

यस संस्थाले विभिन्न देशहरूमा अन्तर्रािष्ट्रय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुप आफ्नो स्थापनाकालदेखि नै यस संस्थासँग आबद्ध छ भने सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तराष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । यस ग्रुपले विभिन्न देशहरूमा गरी करिब ७५ पटक आफ्नो नृत्यकला प्रस्तुत गरेर संसारलाई आफ्नो लोक नृत्य र संस्कृतिप्रति मोहित तुल्याउन सफल भएको छ ।

सन् २०१८ मा नेपालमा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा भएको अन्तराष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालले गरेको आतिथ्य सम्मान, कार्यक्रमको व्यवस्थापनलगायतको प्रत्यक्ष अध्ययन अवलोकनका आधारमा उत्कृष्ठ भएको ठहर गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाललाई ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड २०१८’ ले सम्मान गर्ने निर्णय गरेको हो ।

नेपालीहरूलाई आफ्नै घरआँगनमा बसेर विश्वको लोक नृत्य र लोक संस्कृतिको स्वाद चखाउन सक्रिय एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइराला हाल दक्षिण कोरियाली शहर छनानमा छन् । त्यहाँ आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को कार्यकारी समितिको बैठकमा सहभागी हुन र सम्मान ग्रहण गर्न छनान पुगेको उनले बताए । उनी फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) का एशिया क्षेत्रीय उपाध्यक्षसमेत् हुन् ।