१३७ हलबाट रातो टीका निधारमा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको महत्वकाँक्षी चलचित्र ‘रातो टीका निधारमा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । दशैंको अबसर पारेर यो चलचित्र मुलुकका १३७ ओटा सिनेमा हलबाट एकसाथ रिलिज भएको हो ।

यो चलचित्रको शुक्रबार बिहान काठमाडौंको कुमारी हलमा विशेष प्रदर्शनी गरियो । विशेष प्रदर्शनीमा चलचित्रलाई सञ्चारकर्मीदेखि सिनेकर्मीसम्मले मन पराए ।

हास्यप्रधान चलचित्र रातो टीका निधारमालाई अशोक शर्माले निर्देशन गरेका हुन् । आफुले यो चलचित्र बिरोजगारीको समस्या र महिला ससक्तिकरण तथा आत्म निर्भरताको विषयमा निर्माण गरेको निर्देशक शर्माले बताए । खाडी मुलुकमा गएर पसिना बगाउनु भन्दा त्यो मेहनतले नेपालमै केही गर्न सकिन्छ सन्देश आफुले यो फिल्ममा प्रस्तुत गरेको पनि उनले बताए ।

यो चलचित्रमा नव नायक अंकित शर्मासँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्दि तामाङ, खुस्बु खड्का, राजाराम पौडेल, रविन्द्र झा, निता ढुँगाना, शिबहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठ, रामप्रसाद खनाल, अरुणा कार्कीसहितको कलाकारको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रमा अभिनेत्री साम्राज्ञी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छिन् । एउटा महिलाले ग्रामिण समाजमा गर्ने कार्य, घरायसी कार्य, खेती देखि पशुपालनसम्मको काम यो चलचित्रमा साम्राज्ञीले सफलतापूर्वक गरेकी छिन् । फिल्ममा नव अभिनेता अंकित र साम्राज्ञीको जोडीलाई दर्शकले मन पराएका छन् ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको यो चलचित्रबाट अशोक र किरणले आफ्नै छोरा अंतिक शर्मालाई नव नायकको रुपमा ल्याएका हुन् । छोराको काम राम्रो भएको र दर्शकले मन पराएको निर्देशक शर्माले शुक्रबार सञ्चारकर्मीलाई बताए ।

दुई दशक अघि निर्माण गरेको चलचित्र अल्लारेको रातो टिका निधारमा…गीतको बोलबाट शर्माले यो फिल्मको नाम राखेका हुन् । चलचित्रको शिर्ष गीत रातो टीका निधारमा…ले अहिले चर्चा पाएको छ ।
यो चलचित्रको स्कृप्ट अशोक शर्माले आफैंले लेखेका हुन् । यो चलचित्रमा बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।