एन्टि हिरो सरेपछि धुपौरेमा अनमोल


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज

अभिनेता अनमोल केसी केही समय यताबाट आफ्नै बुबा भुवन केसीले निर्माण गर्ने चलचित्र ‘एन्टि हिरो’को तयारीमा जुटेका थिए । तर अहिले एकाएक उनी अर्को नयाँ फिल्म ‘धुपौरे’मा अनुबन्धित भएका छन् । चलचित्र एन्टि हिरोको तयारी गर्न अझै ३ महिना लाग्ने भएपछि उनी नयाँ फिल्म धुपैरे खेल्न तयार भएका हुन् ।

यस अघि ३५ लाख रुपैयाँ पारिश्रमिक लिएर झरना थापाको फिल्म ए मेरो हजुर ३ मा काम गरेका अनमोलले आफ्नो पारिश्रमिक बढाएर ५० लाख रुपैयाँ पुर्याएका छन् । उनले तोकेको पारिश्रमिक ५० लाख रुपैयाँ दिन निर्देशक साम्तेन भुटिया तयार भएपछि अनमोल केसी नयाँ फिल्म धुपौरेमा अनुबन्धित भएका हुन् ।

अहिलेसम्म आफुले गरेको फिल्म भन्दा यो फिल्म फरक कथाबस्तुमा आधारित रहेकाले काम गर्न तयार भएको अभिनेता अनमोलले बताएका छन् । यो फिल्मको तयारीमा पनि उनी जुटिसकेका छन् ।

फिल्म धुपौरेमा अनमोल अनुबन्धित हुनुको कारणबारे व्युटी न्युज नेपालसँग अनमोलका पिता एवम् अभिनेता, निर्माता भुवन केसीले यसो भने,‘स्कृप्ट र अन्य तयारीका कारण हाम्रो फिल्म एन्टि हिरोको सुटिङ आगामी माघबाट सुरु हुने र हाम्रो फिल्म अर्को वर्षको घटस्थापनामा मात्र रिलिज हुनेछ । यो मँसिर र पुषको समयमा निर्देशम साम्तेनले फिल्म धुपैरेको सुटिङ सक्छु भनेपछि धुपौरे फिल्ममा अनमोल अनुबन्धित भएका हुन् ।’

चलचित्र लेटरबाट निर्देशन सुरु गरेका सम्तेनले आधा दर्जन फिल्म निर्देशन गरिसकेका पनि अहिलेसम्म सफल फिल्म दिन सकेका छैनन् । उनको नयाँ फिल्म च च हुईबाट सफलताको आशा गरिएको छ ।
यसपटकको बिषयबस्तु फरक भएको र अनमोल आफैं मुख्य भूमिकामा भएकाले साम्तेनले यो पटक मेहनत गरेर राम्रो फिल्म बनाउलान भन्ने विश्वास भुवन केसीको छ ।

चलचित्र धुपैरेमा कसलाई नायिका राख्ने भन्नेबारे अहिलेसम्म टुँगो भएको छैन । समाचार अनुसार यो फिल्मको लागि विभिन्न नायिकासँग साम्तेनले कुरा गरिरहेका छन् । उनले एक सातामा नायिका र अन्य कलाकार फाईनल गर्नेछन् ।

चलचित्र धुपौरे लभ स्टोरीसँगै एक्सन प्रधान र थ्रिलर हुनेछ । फिल्म लभ स्टोरी भए पनि यो फिल्ममा अनमोल एग्रेसिभ हिरोको रुपमा प्रस्तुत हुनेछन् । फिल्म कृको जस्तै धुपौरेमा पनि उनी एक्सन हिरोको रुपमा उत्रने छन् ।

यो फिल्ममा गुन्डाहरुको पछि लाग्दै उनीहरुको चाकडी गर्नेहरुलाई धुपौरेको रुपमा प्रस्तुत गरिने भएको छ । सांस्कृति मान्यता अनुसार पुजा पाठमा धुप हाल्ने मान्छेलाई धुपैरे भनिए पनि यो फिल्ममा भिलेनेको चरित्रलाई होच्याएर धुपौरे भनिने छ । अहिले अभिनता अनमोल फिल्म धुपौरेको लागि क्यारेक्टर डेभलपमा जुटिसकेका छन् । केही महिना यताबाट उनी आफ्नो बडी बनाउन व्यस्त छन् ।

चलचित्र धुपौरेलाई रुपेन्द्र खड्गी र जयन श्रेष्ठले निर्माण गर्ने भएका छन् । रुपेन्द्र फिल्म प्रदर्शक हुन भने जयन फिल्म निर्माता हुन् । जयन श्रेष्ठले यो भन्दा अघि निखिल उप्रेतीलाई नायक लिएर फिल्म किङ निर्माण गरेका थिए ।