२२ विधामा २१औं इमेज अवार्ड प्रदान (विजेताहरु)


ब्युटी न्युज नेपाल

काठमाडौं, ४ असोज 

इमेज च्यानलको टुबोर्ग इमेज अवार्डको २१औं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो यो उत्सवमा विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् ।

कार्यक्रममा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरुमध्येबाट २२ ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरियो ।

हाल उपचारकाक्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरे ।

अमेरिकाबाट भिडियो सन्देश पठाउँदै वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताए ।

यी हुन् अवार्ड विजेता

यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् ।

महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो ।

त्यसैगरी, वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् ।

‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो ।

त्यसैगरी, आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात र्पायो ।

सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।

‘गलबन्दी…’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए ।

सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो ।

यस्तै, उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल…’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा…’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो ।

त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर…’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन…’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए ।

त्यसैगरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड…’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए ।

यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो ।

सर्वोत्कृष्ट चलचित्र गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’ चलचित्रको ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त र्गयो ।

त्यसैगरी, चलचित्र ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे ।

‘जात्रै जात्रा’ चलचित्रका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर.के मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण नै आफूहरु इमेज अवार्डको २१औं संस्करणसम्म आइपुग्न सफल भएको बताए ।