वडा नं. ६ को ठिमाहा ६ मायाँ छपक्कै


ट्रेलर रिलिज

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

चलचित्र ‘छ मायाँ छपक्कै’को ट्रेलर रिलिज गरिएको छ । नयाँ बानेश्वरको ‘वान सिनेमाज’ मा यो चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो । यो चलचित्र यही दशैंको अबसरमा असोज २४ बाट रिलिज हुँदैछ ।

सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशनमा यो चलचित्रलाई ‘छक्का पञ्जा’ सिरिजको टिमले निर्माण गरेको हो । यही टीमले पाँच वर्ष अघि निर्माण गरेको चलचित्र वडा नं. ६ जस्तै चलचित्र छ मायाँ छपक्कै रहेको ट्रेलरले जनाएको छ । त्यसैले यो चलचित्रको ट्रेलर आएपछि धेरैलाई यो चलचित्रलाई वडा नं. ६ को ठिमाहाको उपमा दिएका छन् ।

किनकी वडा नं. ६ जस्तै चलचित्र ६ मायाँ छपक्कै पनि माओबादी राजनीतिकै पृष्ठभूमिमा तयार गरिएको छ । फिल्ममा अन्तरजातीय प्रेम र फरक उमेरको प्रेमलाई सार्थक तुल्याउन पात्रहरुले गरेको सँघर्ष रहेको यसको ट्रेलरले दर्शाएको छ ।

यो चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी राजनीतिक कार्यकर्ताको रुपमा छन् । २४ की केकी र ४२ का दीपकबीचको प्रेमसँघर्ष यसमा देखाईएको छ । राजनीतिसँगै उनीहरुको प्रेमको उचार चढाब फिल्ममा रहेको ट्रेलरले दर्शाएको छ । यी दुईसँगै जितु नेपाल र सुपुष्पा भट्टको प्रेम सँघर्ष पनि फिल्ममा रहेको ट्रेलरमा उल्लेख छ ।

यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी , जितु नेपाल, सुपुष्पा भट्ट, केदार घिमिरे, बुद्दी तामाङ, अनुराग कुँवर, प्रकाश घिमिरे, सविन बासतोला, रमा थपलिया, विष्णु सापकोटा, शिशिर वाङदेललगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको कार्यकारी निर्माता केदार प्रसाद घिमिरे, निर्माता दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रोहित अधिकारीलगायत हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन निर्देशक लामाको कथा, दीपकराज गिरीको पटकथा यसमा रहेको छ । जसमा हरि हुमागाइँको छायाँकन, विपिन मल्लको सम्पादन, वसन्त थापाको संगीत रहेको छ ।