हनिमुन छाडेर कबड्डी कबड्डी कबड्डीको प्रचारमा विल्सन


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ भदौ

हास्य अभिनेता विल्सन बिक्रम राईले हालै विवाह गरेर पनि हनिमुन मनाउने समय पाएका छैनन् । अभिनेता विल्सनले आफ्नो हनिमुनको समयलाई पछि सारेर अहिले नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रचार प्रसारमा व्यस्त हुनु परेको छ ।

यही ३ असोजबाट रिलिज हुने चलचित्र कबड्डी कबड्डी कबड्डीका अरु दुई नायक दयाहाङ र कर्माले प्रचारमा समय दिन सकेका छैनन् । सोही कारण पनि हनिमुनको समयलाई पछि सारेर विल्सनले यो फिल्मको प्रचारमा जुट्नु परेको बताएका छन् ।

बिगतका हरेक फिल्ममा तक्मे बुढाको चरित्र सुहाउँदो अभिनय गर्दै आएका विल्सनले पहिलो पटक त्यो चरित्रबाट बाहिर निक्लेर यो फिल्ममा धनकाजीको भूमिका निर्वाह गरेको बताएका छन् । यो फिल्ममा आफु नायक होकी खलनायकको भूमिकामा हो भन्ने छुट्याउन आफुलाई नै गाह्रो परेको यी हास्य अभिनेताको कथन छ ।

बिगतका फिल्ममा स्कृप्ट नै नपढी सोझै सुटिङमा पुग्ने गरेको यी अभिनेताले सञ्चारकर्मीसँग कुरा गर्दै कबड्डी कबड्डी कबड्डीले आफुलाई फिल्ममा काम गर्नु भन्दा अघि फिल्मको पुरा स्कृप्ट पढ्ने पर्ने रहेको भन्ने महसुस गराएको बताएका छन् । स्कृप्ट अध्ययनमा लापरवाही गरेकै कारण कबड्डी कबड्डी कबड्डीको छायाँकनमा पहिलो दिनमै निर्देशकले आफुलाई फिल्मबाट झन्डै नहटाएको रहस्य पनि यि कलाकारले खोलेका छन् । पहिलो दिनको छायाँकनमा धनकाजीको रुपमा प्रस्तुत हुनु पर्नेमा आफु तक्मेबुढाकै रुपमा प्रस्तुत भएपछि निर्देशक रामबाबु गुरुङले एक्सन कट नै नभनी छायाँकन स्थलबाट केही पर गएर बसेको उनले बताए ।

यो फिल्ममा काम गर्दाका विभिन्न अनुभव सुनाउने क्रममा विल्सनले दयाहाङको प्रतिस्पर्धी भएर कबड्डी कबड्डी कबड्डीमा काम गरेको खुलाएका छन् । तर फिल्मकी नायिका उपासना सिंह ठकुरीलाई यो फिल्ममा तीन नायिका मध्य कसले विवाह गर्छ भन्ने बारे विल्सनले खुलाउन चाहेनन् ।