कलाकार संघको स्थापना दिवसमा कलाकारकै खडेरी


गसिप
ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, २३ भदौ

नेपाली चलचित्रमा अभिनयरत कलाकारहरुको हक हितका लागि ३२ वर्ष अघि नेपाल चलचित्र कलाकार संघ स्थापना भएको हो । यही कलाकार संघको ३२ औं वार्षिक साधारण सभामा यसपटक अनुहार चिनिएका र अहिले चर्चामा रहेका कलाकारहरु पटक्कै उपस्थित भएनन् । यो समाचार प्रस्तुत गर्दा हामीलाई पनि अनौठो लागिरहेको छ ।

कलाकार संघ भन्ने वित्तिकै तपाईहरुले नायक राजेश हमाल, भुवन केसी, शिब श्रेष्ठ, निखिल उप्रेती, रमेश उप्रेती, दीलिप रायमाझी, सुनिल थापा, राजेन्द्र खड्गीहरुलाई खोज्नु हुन्छ हैन त ? अनि नयाँ पुस्ताका हिरोहरु अनमोल केसी, प्रदीप खडका, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, निश्चल बस्नेत, आकाश श्रेष्ठ, पल शाहलगायतको उपस्थितिको आशा पक्कै तपाई दर्शकहरुले गर्नु भएको होला । तर यी कुनै अभिनेताहरु पनि यो कार्यक्रममा यतीबेला छैनन् । मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, दीपकराज गिरी, जितु नेपाल, किरण केसी, शिबहरि पौडेल, सिताराम कट्टेल जस्ता चर्चित हास्यकलाकारहरु खै यो कार्यक्रममा ?

नाम चलेका अभिनेता मात्र हैन, चर्चित अभिनेत्रीहरु पनि खै त यहाँ ? हैट, चिनिएका नायिकाहरुकै खडेरी लागेको छ यहाँ । अघिल्ला पुस्ताका नायिकाहरु करिश्मा मानन्धर, मिथिला शर्मा, गौरी मल्ल, रेखा थापा, झरना थापा, संचिता लुईटेल, दीपाश्री निरौलाहरु पनि यो कार्यक्रममा आउने पर्ने हैन र ? खैत उनीहरुको उपस्थिति । अनि नयाँ पुस्ताका पुजा शर्मा, केकी अधिकारी, ऋचा घिमिरे, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, वर्षा शिवाकोटी, स्वस्तिमा खड्का, कुञ्जना घिमिरे जस्ता अभिनेत्रीलाई पनि कार्यक्रममा देखिनु पर्ने हैन र । धेरैले आफुलाई निम्ता नगरेको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको कार्यसमिति सदस्यमा मनोनित भएकी अभिनेत्री आँचल शर्मा समेत कलाकार संघको स्थापना दिवसमा उपस्थित भईनन् । हेर्नुस् त नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसको अबस्था । नेपाली चलचित्रबाट अबकास पाएका, चलचित्रमा राम्रो भूमिका नपाएका, पर्दामा अनुहार राम्ररी नचिनिएकाहरुको यहाँ भिड छ । कलाकार संघको यो कार्यक्रममा उपस्थित कतिपय ब्यक्तिहरु आफुलाई कलाकार त भन्छन् । तर यिनीहरुले मध्य केहीले खेलेको फिल्म पर्दामा हेर्न पाईएको छैन । कलाकार संघकै स्थापना दिवसमा चिनिएका कलाकारहरु उपस्थित नहुनु । कती लाजमर्दो कुरो । अनि यस्तो भएपछि अग्रज सिनेकर्मी चिन्तित हुनु स्वभाविकै हो नी । कलाकार संघका सल्लाहकार एवम् चलचित्र निर्देशक एवम् अग्रज कलाकार नीर शाहले कार्यक्रममा चिनिएका कलाकारहरु उपस्थित नहुँदा साह्रै दुःख व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष एवम् अभिनेता कृष्ण मल्ल पनि कम्ता चिन्तित भएनन् । उनी नेपाल चलचित्र कलाकार संघका सल्लाहकार हुन । त्यसैले उनले पनि कार्यक्रममा यसरी आक्रोस पोखे ।

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का देखि अग्रज चरित्र अभिनेत्रीहरु भुवन चन्द, बसन्धरा भुसाल, लक्ष्मी गिरीसम्मले चलेका कलाकार आफ्नै संघको कार्यक्रममा उपस्थित नहुँदा दुख व्यक्त गरे । दुःख व्यक्त गरेर मात्र नहुँदो रहेछ । कलाकारहरुको आस्था आखिर किन कलाकारसंघ प्रति मर्दै गयो । चलेका कलाकारहरु किन यो संघमा आकर्षित हुन सकेनन् त । संघका कार्यसमितिले गँभिर भएर सोच्ने बेला आएकोछ ।