देशभर निता र प्रज्वलको ‘सोच’


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २० भदौ

शुक्रबार अर्थात् २० भदौमा भने एउटा मात्रै फिल्म–‘सोच’ प्रदर्शन भएको छ । पूजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन रहेको फिल्म देशभरका झण्डै ५ दर्जन हलमा एकल प्रदर्शनमा उत्रिएको छ ।

फिल्ममा नवनायक पूजनका साथमा प्रज्वल गिरी, नीता ढुंगाना,बिशाल पहाडी,सोनीका बास्तोला,किरण थापा,रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा निर्माण पक्षले बिहीबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । यही फिल्मबाट निर्देशन र अभिनयमा डेब्यु गरेका पुजनले ‘सोच’ प्रति आफू निकै आशावादी रहेको बताए ।

‘सोच’ रिलिजभन्दा केही दिनअघि अभिनेता प्रज्वल गिरी सपरिवार अमेरिका उडे । अभिनेत्री नीता ढुंगाना भने सम्पर्कमै आइनन् । तर पनि निर्माण पक्षले उनीहरुप्रति कुनै गुनासो गरेको छैन । ‘उहाँहरु जहाँ भए पनि आफ्नोतर्फबाट साथ दिनुभएको छ ।’ निर्देशक पूजनले भने ।

‘मलाई मेरो फिल्मप्रति निकै आशा छ,’ उनले भने, ‘मैले धेरै समयको अध्ययन,अनुसन्धान र योजनापछि फिल्म निर्माण गरेको हुँ ।’ निर्मात्री गंगा रजकले पनि फिल्मप्रति आफू आशावादी रहेको बताइन् । ‘सोचको ट्रेलर र गीतबाट जुनकिसिमको प्रतिक्रिया पाएका छौ, त्यसले हामीलाई अझ आशावादी बनाएको छ ।’

उनले फिल्मले पारिवारिक माहौलको कथा बोल्ने बताइन् । अभिनेता बिशाल पहाडीले ‘सोच’ मा आफू नकारात्मक भूमिकामा रहेको खुलासा गरे । ‘म नकारात्मक भूमिकामा छु,’ उनले भने, ‘मेरो चरित्रलाई परिस्थितिले नेगेटिभ थटको बन्न बाध्य बनाउछ ।’ उनले फिल्म राम्रो बनेकाले सबैले एकपटक हेर्नुपर्ने जिकीर गरे ।

बिदुर पाण्डेले खिचेको फिल्मको बितरण आरआर फिल्मस्ले गरेको हो । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मको पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् भने फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।