गाउँले भूमिकाले जोगाउला त साम्राज्ञीको साख ?


गफिस

ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ

दुई वर्ष अघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटा अन्तवार्ताको क्रममा गाउँले भूमिकालाई होच्याएर बोलेकी थिईन् । एउटा फिल्मबाट गाउँले भूमिकाको प्रस्ताव आउँदा उनले आफुलाई गाउँले भूमिका मन नपर्ने प्रतिक्रिया दिएकी थिईन् । जसका कारण यी अभिनेत्री त्यतिबेला निकै बिबादमा पनि परेकी थिईन् ।

पूर्व राज परिवारसँग जोडिएकी अभिनेत्री साम्राज्ञीले फिल्म ड्रिम्स्बाट शहरीया युवतीको भूमिका मार्फत अभिनेता अनमोल केसीको जोडी बनेर नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन् ।

त्यसपछि आधा दर्जन फिल्ममा लगातार शहरीया युवतीको भूमिका निर्वाह गरेकी साम्राज्ञी यसपाली पहिलो पटक ग्रामिण युवतीको भूमिकामा प्रस्तुत भएकी छिन् ।

आगामी दशैंको अबसरमा १० असोजबाट रिलिज हुने चलचित्र रातो टिका निधारमामा यि नायिकाले गाउँले युवतीको भूमिका निर्वाह गरेकी हुन् । यो चलचित्रका निर्माता निर्देशक अशोक शर्माले ग्रामिण भूमिकाबारे प्रकाश पारेपछि साम्राज्ञीले यो रोल निर्वाह गरेकी हुन् ।

चलचित्र रातो टिका निधारमाको ट्रेलर मँगलबार युट्युब च्यानलबाट रिलिज गरिएको छ । ट्रेलर अनुसार अभिनेत्री साम्राज्ञी यो चलचित्रमा गाउँकी पढेलेखेकी एक जुझारु युवतीको भूमिकामा छिन् ।

कुनै समय आफुलाई गाउँले भूमिका मन नपर्ने बताउने अभिनेत्री साम्राज्ञीलाई यसपटक फिल्म रातो टिका निधारमाको यही गाउँले युवतीको भूमिका निकै आकर्षक देखिएको छ ।

साम्राज्ञीले आफुलाई गाउँले भूमिका मन नपर्ने बताएपछि उनी अब गाउँले भूमिकामा नदेखिने विश्वास दर्शकलाई थियो । तर यसपटक उनलाई यस्तो भूमिका देखिएपछि दर्शकपनि यतीबेला छक्क परेका छन् । हो, धेरैलाई चकित पार्दै यी अभिनेत्री चलचित्र रातो टिका निधारमा बाट गाउँले भूमिकामा दर्शकमाझ आएकी छिन् ।

यो फिल्मको ट्रेलर अनुसार नायक अँकित शर्मा र नायिका साम्राज्ञीको भेट एउटा पाठोले गराईदिन्छ । फिल्ममा यी दुईलाई प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत गरिएको छ ।

ट्रेलरको दृष्यमा अभिनेत्री साम्राज्ञी यो फिल्ममा कुर्ता सुरुवाल र गुन्यु चोलीमा प्रस्तुत भएकी छिन् । निकै हलुको मेकअपमा प्रस्तुत भएकी यी अभिनेत्रीलाई गाउँले युवतीको भूमिकामा गज्जब सुहाएको छ ।

चलचित्र मारुनीमा निकै तामझामका साथ शहरीया युवतीको भूमिका निर्वाह गरे पनि साम्राज्ञीको यो फिल्म सोचे अनुसार सफल हुन सकेन । १५ लाख रुपैयाँ पारिश्रमिक लिएर फिल्म मारुनी खेलेकी साम्राज्ञीको क्रेजका कारण यो फिल्म हिट हुनु पर्ने । तर त्यसो भएन ।

आगामी १० असोजमा आउने चलचित्र रातो टिका निधारमामा साम्राज्ञी यसपटक निकै सरल र सुशिल कन्याको भूमिकामा छिन् । शहरीय युवतीको भूमिकामा दर्शकले रुचाउन छाडेका साम्राज्ञीलाई यसपटक फरक शैलीको ग्रामिण भूमिकामा रुचाउने छन भन्ने आशा गरिएको छ । साँच्चै उनको यो भूमिकालाई दर्शकले रुचाएको खण्डमा भोलीका दिनमा साम्राज्ञीलाई एक पछि अर्को गर्दै ग्रामिण युवतीको भूमिकामा प्रस्ताव आउन सक्नेछ । त्यतिबेला पक्कै यी अभिनेत्रीको फिल्मी क्यारेक्टरको ट्रयाक नै चेन्ज हुन सक्ने छ ।