दर्जन मुलुकमा एकसाथ रिलिज हुँदै पासवर्ड 


ब्युटी न्युज नेपाल

काठमाडौं, १४ भदौं

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनीलाई अभिनय गराएर चर्चामा रहेको नेपाली चलचित्र पासवर्ड यही २७ भदौ देखि मुलुकका सिनेमा हलमा आउँदैछ । फिल्मको प्रचारका लागि सनी २४ भदौमा काठमाडौं आउने छिन् ।

निर्माता अजित के आर थापाले दिएको जानकारी अनुसार चलचित्र पासवर्डको विदेशमा पनि रिलिज गरिने छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन पासवर्ड रिलिज गरिने भएको छ ।

सम्राट बस्नेत निर्देशित यो एक्सन प्रधान सिनेमा हो । जसमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

थापाका अनुसार सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ । अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने सिनेमा भारतको दार्जि्लिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।

यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा सिनेमा रिलिज फिक्स भएको छ ।

अंकित गौतमको कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह निर्माता रहेको यो फिल्मका लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको सिनेमाको कथा सिमा गुरुङले लेखेकी छन् ।