ब्युटी न्युज नेपाल 

काठमाडौं, १२ भदौ

मुलुकका सिनेमा हलमा १३ भदौबाट रिलिज हुन लागेको फिल्म मारुनीले राम्रो चर्चा पाएर पनि यसलाई हल सञ्चालकहरुले महत्व दिएनन् । सोही कारण काठमाडौं र मोफसलका सिनेमा हलमा नेपाली चलचित्र मारुनीले अत्यन्त कम शो पाएको छ । मारुनीले पाएको शोमा अग्रिम बुकिङ राम्रो भईरहेको छ ।

यतीबेला २ करोड नेपाली रुपैयाँमा बनेको नेपाली चलचित्र मारुनीले २५० करोड अर्थात ४०० करोड नेपाली रुपैयाँमा बनेको भारतीय सिनेमा साओसँग प्रतिस्पर्धा गर्नु परेको छ । नेपाली महिलाहरुको महान चाड तिजलाई लक्षित गरेर निर्माण गरिएको मारुनीलाई साओको तुलनामा हल सञ्चालकहरुले अत्यन्त कम शो दिएका छन् ।

काठमाडौं उपत्यकामा क्युएफएक्स चेनमा शुक्रबारका लागि भारतीय फिल्म साओले ३८ शो पाउँदा नेपाली फिल्म मारुनीले जम्मा ८ शो मात्र पाएको छ । नेपाली चाडपर्वमा यसपटक नेपालमा बिदेशी सिनेमा हाबी भएको छ । जसका कारण यसपटक तीजमा नेपाली चेलिबेटीको दक्षिणा सोझै दक्षिणभारत तर्फ जाने भएको छ ।

क्यएफएक्स मात्र हैन, काठमाडौंका अरु मल्टिप्लेक्सले पनि मारुनीलाई प्रदर्शनमा त्यति महत्व दिएका छैनन् । बिएसआर गोँगबुले त जम्मा एक शोमा मारुनीलाई टारेको छ । क्युएफएक्स र अरु हलको तुलनामा बिगले केही राम्रो शो दिएको छ । गोपिकृष्ण, अष्टनारायण, गुण जस्ता हलले मारुनीलाई पनि महत्व दिएको छ ।

४०० करोड रुपैयाँको साओसँग त्यैपनि २ करोड रुपैयाँको नेपाली चलचित्र मारुनीले सँगै रिलिज हुने हिम्मत देखाएको छ । सोमबार तिजको दिन मारुनीको शो बढ्ने विश्वास निर्माण पक्षको छ । नेपालमा बिस्तारै बिदेशी फिल्म हावी हुँदै गएकै कारणले नेपाली फिल्मका निर्माताहरु पीडित भएका हुन् । सोही कारण बिदेशी फिल्मलाई कोटा लगाउनुपर्छ भन्नेतर्फ नेपाली निर्माताको व्यापक माग उठेको हो ।

साओमा प्रवास, श्रद्धा कपुर, निल नितिन मुकेश लगायतको मुख्य भूमिका छ । पुनम क्षत्री गौतम निर्मित तथा नवल नेपाल निर्देशित चलचित्र मारुनीमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेबीका गुरुङसहितको मुख्य भूमिका छ ।