पुजा र सृष्टीमा कस्को पोई पर्यो काले ?


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

आगामी ८ कात्तिकमा रिलिज हुने भनिएको फिल्म ‘पोई पर्यो काले’को शिर्ष गीतको छायाँकन विवाह मण्डपको सेट लगाएर बालाजु ल्याममा गरिएको छ । बालाजुमा रहेको, चलचित्र विकास कम्पनीको जस्तापाताले बनाएको स्टूडियो भित्र विवाह समारोहको सेट बनाएर चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन गरिएको छ ।

यो गीतको भिडियोमा चलचित्रका शिर्ष कलाकारहरु सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा र श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरले नृत्य गरेका छन् । यो गीतको कोरियोग्राफर रामजी लामिछानेले गरेका छन् । छायांकार शिव ढकालले आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गरेका छन् । चलचित्रको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।
कात्तिक ८ गतेबाट रिलिज हुने चलचित्रका लागि कलाकारले खुबै मिहिनेत गरिरहेका थिए । नायिका पूजा शर्माले यो गीत चलचित्र भित्र एउटा पुजामा घन्किने गीत रहेको सुनाइन् । तर, चलचित्रमा उनले आफ्नो ‘पोई’ भने को हुन् भनेर खुलाउन चाहिनन् ।

नायक सौगात मल्लले पनि चलचित्रलाई कमेडी कथामा निर्माण भएको बताए । तर, चलचित्र हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायांकन सकिएको पत्तो नै नभएको बताए ।

नायिका श्रृष्टी श्रेष्ठ चलचित्रमा पूजाको साथीको भूमिकामा छिन् । उनले, चलचित्रको पुरा अवधी आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरिन् ।