जाईरालाई रुचाए सिनेकर्मीले


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ 

शुक्रबारबाट रिलिज भएको नम्रता श्रेष्ठको चलचित्र जाईराले ठिकै व्यापार गरिरहेको छ । तर यसले सिनकर्मीबाट राम्रो प्रतिक्रिया पाएको छ । एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’ हेरेपछि सेलिब्रेटीहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । आशुतोष राज श्रेष्ठ निर्देशित यस फिल्मको मंगलबार साँझ राजधानीको कुमारी हलमा ‘सेलिब्रेटी शो’ आयोजना गरिएको थियो । फिल्म हेर्न पुगेका सबैले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको मुक्तकण्ठले प्रशंसा गरे ।

फिल्म हेरेपछि अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, केकी अधिकारी, रिमा विश्वकर्मा, सुनिल थापासहित थुप्रै कलाकारले फिल्मको खुलेर प्रसँसा गरे ।

‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो । फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

अभिनेता भुवन केसीले फिल्मले उठाएको विषयवस्तु फरक रहेको बताए । उनले भने, ‘नम्रताले निकै फरक भूमिका गरेकी छिन् । र, निकै मेहनत पनि गरेकी छन् । अरु कलाकारले पनि राम्रो काम गरेका छन् । नेगेटिभ भूमिकामा अभिनय गर्नुभएको श्रृजना रेग्मीको काम सबैभन्दा उत्कृष्ट लाग्यो ।’ दर्शकलाई एकपटक फिल्म हेर्न आग्रह गर्दै उनले फरकपन आभास गर्न पाइने बताए ।

अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन् । ‘मलाई रिङको फाइट मनपर्‍यो, बुलेट र जाइराको । फिल्म एकदमै राम्रो लाग्यो । नम्रताले गरेको मेहनत पर्दामा देखिन्छ । प्रमोद अग्रहरीको काम पनि उत्कृष्ट छ’, उनले भनिन् । अभिनेत्री रेखा थापाले पनि नम्रताको मेहनतको प्रशंसा गरिन् । उनले नेगेटिभ रोल गर्ने श्रृजना रेग्मीको काम पनि मन परेको बताइन् ।

‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरेर थाकेनन् । नेपालमा ‘जाइरा’ जस्तो फिल्म बन्नु ठूलो हिम्मतको काम रहेको बताउँदै उनले भने, ‘स्पोर्टस् लभर दर्शकले फिल्म नछुटाउँदा राम्रो हुन्छ । पर्दामा नम्रतालाई हेर्दा रियल फाइटर महशुस हुन्छ । बुलेटको भूमिका निभाउने श्रृजनाको काम पनि गजब लाग्यो’, उनले भने ।

अभिनेत्री केकी अधिकारीले फिल्म निकै फरक लागेको बताइन् । नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन्, ‘हामीहरु यस्तो फिल्म बनाउनुपर्छ भनेर सोच्छौं मात्र तर उहाँहरुले बनाएरै देखाउनुभयो । कल्पनामा मात्र हुने चिज देख्न पाइयो । फिल्म एकदमै राम्रो छ । मेरो दिमागमा अझै पनि क्लाइमेक्स सिन बसिरहेको छ । श्रृजना, प्रमोद, अनुप सबैको काम उम्दा छ ।’

अभिनेत्री रिमा विश्वकर्माले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । निर्देशक विशाल भण्डारीले फिल्मको एक्सन सिक्वेन्स उत्कृष्ट रहेको बताउँदै नम्रताको मेहनत प्रशंसायोग्य रहेको बताए । हास्यकलाकार सन्दिप क्षेत्री पनि नम्रताको प्रशंसा गरेर थाकेनन् । ‘फिल्ममा नम्रताको मेहनत देखिएको छ । अभिनय पनि मनछुने छ । फिल्मको एक्सन सिक्वेन्स गजब छ’, उनले भने ।

फिल्म ‘पर्व’ मा अभिनेत्री नम्रता श्रेष्ठसँँग स्क्रिन साझेदारी गरेका अभिनेता कोशिश क्षेत्रीले आफू दोहोर्‍याएर फिल्म हेर्ने सोच बनाएको बताए । उनी भन्छन्, ‘एक्सन त गजब नै छ । हरेक कलाकारको अभिनय उम्दा छ । सबैले उतिक्कै मेहनत गरेका छन् ।’ ‘क्याप्टेन’ निर्देशक दीवाकर भट्टराई आफू नम्रताको तारिफ गरेर नथाक्ने बताए । फिल्मको एक्सन पार्ट राम्रो रहेको उनको भनाई छ ।