धरौटीमा छुटेका रबि आज काठमाडौं फर्कने


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौं

न्युज २४ का सिधाकुरा जनतासँगका सञ्चालक रबि लामिछाने, युवराज कँडेल आईतबार बेलुका धरौटीमा रिहा भएका छन् । उनीहरु रिहा भएपछि आज सोमबार बिहानै चितवनमा उनको स्वागतमा बिजय यात्रा गरिएको छ । बिजय जुलुस त आईतबार बेलुका ६ बजेदेखि रातीसम्म पनि उनका शुभचिन्तकहरुले निरन्तर गरेका थिए ।

पत्रकार भेटघाट सकेर आफ्ना शुभचिन्तकलाई भेट्न व्यस्त रहेका सञ्चारकर्मी रबि लामिछानेले आज दिउँसो शुभचिन्तकलाई सम्बोधन गर्नेछन् । उनी बेलुकै न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँगको सञ्चालन सुरु गर्ने तयारीमा छन् ।

आईतबार बेलुका हिरासत मुक्त भएपछि रबिले सञ्चारकर्मी रबिले सहयोग युवराजसँग फेसबुक लाईभमार्फत देश बिदेशमा रहेका आफ्ना समर्थकहरुलाई सम्बोधन गरे । रबिले शुभचिन्तकहरुलाई पटक पटक धन्यबाद ज्ञापन गर्दै आफुलाई हिरासत मुक्त गर्न निरन्तर साथ दिएको आभार प्रकट गरे ।

सञ्चारकर्मी रबि लामिछानेको रिहाईका लागि निरन्तर ११ दिन देखि चितवन पुगेर धर्नामा बसेका समर्थकहरुमा खुसीको लहर छाएको छ । रबिका शुभचिन्तकहरुले रबिको रिहाईलाई आफुहरुको सफलता मानेका छन् ।

आज सोमबार बिहानै देखि चितवनमा यो सफलताको खुसी साटिएको छ । बिहान ९ बजे रबिले पत्रकार भेटघाट आयोजना गर्दा उनलाई बधाई दिन हजारौं समर्थकहरु हल बाहिर जम्मा भएका छन् । उनीहरुलाई रबिले पनि धन्यबाद ज्ञापन गरेका छन् ।

शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानले अभियोग स्वीकार गरेका छैनन् । तथापि रवि ‘जनतासँग सिधा कुरा’को कार्यक्रम प्रस्तोता समेत भएकाले उनले यो मुद्दामा जोडिएका प्रहरी, अभियुक्त, वकिल, मुद्दाका साक्षी लगायतसँग कुराकानी गरेर कार्यक्रम चलाउन, फेसबुक लाइभ वा ट्वीटरमा विचार वा प्रतिक्रिया दिन रोक लगाइएको छ । साथै स्वास्थ्य उपचारका लागि विदेश जानु परेमा अदालतको अनुमति लिनुपर्ने शर्त पनि अदालतले राखेको छ । अदालतले ताकेको तारिकमा हाजिर भएर बयान दिनु पर्ने पनि अदालतले निर्देशन दिएको छ ।

यता यो प्रकरणमा अदालतले रबि लामिछानेलाई ५ लाख रुपैयाँ र अर्का सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको हो । यो प्रकरणमा पीडित देखिएको भन्दै रुकु भनिने अस्मिता कार्कीलाई अदालतले बिना धरौटी साधारण तारेखमा छाडेको छ ।

यदि रबि लामिछाने निर्दोष हुन भने उनलाई सबैभन्दा बढी ५ लाख धरौटी किन लियो अदालतले भनेर प्रश्न उनका शुभचिन्तकहरुले अहिले सामाजिक सञ्जालमा उठाईरहेका छन् । कानूनी प्रक्रिया अनुसार सबैभन्दा बढी धरौटी लिएर अदालती प्रकृया अनुसार रबिलाई यो प्रकरणमा मुख्य जिम्मेवार देखाईएको कानूनी बिद्हरु बताउँछन् । तर महँगो धरौटी लिएको भन्दैमा दोषी ठान्नु नहुने र भोली मुद्दाको किनारा लागेर सञ्चारकर्मी रबि लामिछाने निर्दोष सावित भएमा उनको धरौटी फिर्ता हुने पनि हाम्रा कानूनी सल्लाहकारले बताएका छन् । धरौटी लिनु एउटा अदालति प्रकृया भएकाले यसलाई शुभचिन्तकहरुले अन्यथा लिनु नहुने पनि हाम्रा कानूनी सल्लाहकारले बताएका छन् ।