आयो बाल गायक प्रिन्सको नयाँ गीत बाबाको मायाँ…


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

जो कोहीका लागि पनि सबैभन्दा प्रिय उनका बुबा आमा हुन् । यसै क्रममा बाल गायक प्रिन्स सिलवालको आफ्नो नयाँ गीत बाबाको माया…को भिडियो रिलिज गरेका छन् ।

काठमाडौंमा शनिबार कवि तथा गीतकार शंकर प्रसाद (एसपी ) कोइरालाले सिलवालको गीतको भिडियो सार्वजनिक गरे । उनको यो तेश्रो म्यूजिक भिडियो हो । भवानी अधिकारीको रचना रहेको यो गीतलाई युवा संगीतकार प्रेम घिमिरेको संगीत दिएका छन भने संगीत संयोजक दिनेश न्यौपानेले गरेका छन् ।

कार्यक्रममा बोल्दै गीतकार कोइरालाले प्रिन्स सिलवालको आवाज कर्णप्रिय छ भने । गीतका शव्द, भाव, आवाज र दृश्यले बुबा र सन्तानबीचको सम्बन्धलाई प्रष्ट पारेको उनले बताए । गीतकार कोइरालाले प्रिन्ससँग भएको प्रतिभालाई अभिभावकले समेत सहजताका साथ बुझ्न सकेको भन्दै प्रिन्सका बुबा आमाको योगदान उच्च रहेकोमा प्रसँसा गरे ।

यो गीतको अडियोमा अभिनेता सरोज खनालको अभिनय छ । उनले बुबाप्रतिको सम्मानका लागि आफुले यो गीतमा अभिनय गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । बुबाप्रति समर्पित यो गीतले समाजमा बेग्लै अर्थ राख्ने प्रतिकृया उनले दिए । चितवनका गायक र म पनि चितवने भएर मात्रै नभई गीतमा पावर भएकाले पनि आफुले यो गीतमा अभिनय गर्न राजिभएको बताए ।

कार्यक्रममा रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंका सहायक क्याम्पस प्रमुख डा. हरि सिलवालले गायक प्रिन्स सिलवाल समाज भित्रको तारा भएको बताए । प्रिन्सको गीतले वेग्लै खालको सन्देश दिनेमा आफु ढुक्क भएको उनले जिकिर गरे ।

भूकम्पले धनजनको क्षति मात्रै गरेन त्यसले कयौंको सपना समेत उडाएको विषयलाई गीत मार्फत दर्शक सम्म ल्याउने प्रयास भएको गीतकार भवानी अधिकारीले बताए ।

कार्यक्रममा कोलोम्बस स्कुलकी प्रिन्सीपल मुना सिलवाल, पर्यटन व्यवसायी केशव पाण्डे, प्रिन्सका बुबा रमेश सिलवाल, आमा प्रतिभा पाण्डे सिलवाल लगायतले गायक प्रिन्सको गायनबारे चर्चा गरे ।
यो गीतको भिडियो निर्देशन राजेन्द्र पाण्डेले गरेका हुन् । पाण्डेको अध्यक्षतामा कार्यक्रममा प्रिन्सको नयाँ भिडियो रिलिज गरिएको थियो । वन वल्ड प्रोडक्सनको प्रस्तुती रहेको यो म्यूजिक भिडियो मलेखु, जलवीरे, सौराहा लगायतका क्षेत्रमा छायांकन गरिएको छ । राजेन्द्र पाण्डे र राजकुमार तामाडले निर्देशन गरेका हुन् । भिडियोको छायांकन राजेन्द्र पाण्डे र सन्तकुमार चौधरीले गरेका हुन । सम्पादन लोकन्द्र सुब्बाको हो ।

गीतमा गायक सिलवाल र अभिनेता सरोज खनालले अभिनय गरेका छन् । यस अघि गायक सिलवालको दशै मनाउने हो चंगा उडाउने हो… र न मानामा नापिन्छ माया न तुलोमा जोखिन्छ माया…गीत सार्वजनिक भइसकेको छ ।