‘प्रेमगीत ३’ को शिर्षगीतमा ८० कलाकारको सहभागिता


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौं

चलचित्र ‘प्रेमगीत–३’को शिर्ष गीत रेकर्डिङ भएको छ । सफल सिनेमा प्रेमगीतको तेस्रो सिक्वेलको रुपमा ‘प्रेमगीत–३’को निर्माण सुरु हुँदैछ । यो चलचित्रको शिर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालको स्टुडियोमा सम्पन्न गरिएको हो ।

सिनेमाको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी गायक, गायिका, कलाकार एवम् बाद्यबाधकको सहभागितामा शिर्ष गीत रेकर्डिङ कार्य सम्पन्न गरिएको हो ।

यो चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सेन स्वयम पनि रेडियो नेपाल पुगेका थिए । गीतमा यी कलाकारहरुको पनि स्वर रहेको छ ।

आकेष्ट्रा साहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन्।

दशैं लगत्तै छायांकनमा जाने ‘प्रेमगीत–३’मा प्रदीप खडका, शिव श्रेष्ठ, सुनिल थापा, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सिनेमालाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन्। ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ ।