१०० हलबाट आयो नम्रताको जाइरा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ६ भदौ

अभिनेत्री नम्रता श्रेष्ठ निर्मित एवम् निर्देशित चलचित्र जाईरा शुक्रबारबाट मुलुकका १०० भन्दा बढी फिल्म हलमा रिलिज भएको छ । यतीबेला बलिउड र हलिउडको समेत राम्रो फिल्न नभएको बेलामा जाईराले मल्टिप्लेक्स हलमा राम्रो सँख्यामा सोहरु पाएको छ ।

यो फिल्म किक बक्सिङ खेलमा आधारित छ । फिल्मकी निर्माता एवं अभिनेत्री नम्रता श्रेष्ठले यही चलचित्रको लागि आठ महिनासम्म किक बक्सिङ सिकेर जाइरामा खेलाडीको भूमिका निर्वाह गरेकी हुन् । फिल्म हेर्दा उनी एक प्रभावशाली किक बक्सिङ खेलाडी देखिन्छ ।

उनीसँगै यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगरलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा नव अभिनेत्री सृजनाको कामले अहिले प्रसँसा पाएको छ । अभिनेता प्रमोदले पनि केही फरक काम गर्न खोजेका छन् ।

यो चलचित्रलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेको हुन् । नेपालमा स्पोर्टसम्बन्धी फिल्म निकै कम बन्ने भएकाले आफूले यो चलचित्र निर्माण गरेको अभिनेत्री नम्रताले बताएकी छन् । जाइरामा नम्रता श्रेष्ठसँगै प्रनिता श्रेष्ठ, प्रसन्न गोपालीको लगानी रहेको छ ।