पाकठलाई पूर्व सचिब घिमिरेको अन्तिम प्रश्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

नेपाल सरकारका पूर्व मुख्यसचिब तथा साहित्यकार भोजराज घिमिरे आख्यान बिधामा जोडिएका छन् । यस अघि काव्य सृजना गर्दै आएका घिमिरेले नयाँ कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौँमा सार्वजनिक गरेका छन् ।

उनको पुस्तकका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, डा. विमल कोइराला, डा. बिन्दु शर्मा, महेश पौड्याल, घनेन्द्र ओझा, पुष्पाराज पौडेलसहितले बिमोचन गरे ।

कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेको जागिरे जीवन, घिमिरेले भोगेको परिवेश र अनुभूत गरेका परिस्थिति नै घिमिरेका कथामा आएको उल्लेख गरे । कुलपति उप्रेतीले पूर्वप्रशासकका व्यक्तिगत अनुभव र अनुभूति कथाका रुपमा आएका हुनसक्ने भन्दै उक्त कथाहरु पढ्दा पाठक भावुक र रोमाञ्चित दुवै बन्नसक्ने धारणा राखे ।

पूर्वमुख्यसचिव कवि तथा गीतकार डा. विमल कोइरालाले सिर्जना कर्म अत्यन्त गाह्रो काम हुने धारणा राखे । जीवनको उत्तराद्र्धमा आएर विधाभञ्जन गर्नु चानचुने कुरा नभएको कोइरालाको भनाइ थियो । घिमिरेको पछिल्लो समयमा देखिएको लेखनप्रतिको ऊर्जा देख्दा आफूलाई खुसी र अचम्म दुवै लागेको कोइरालाले बताए ।

पुस्तकमाथि समीक्षा गर्दै महेश पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना रहेको उल्लेख गरे । उनले पूर्वमुख्यसचिवसमेत रहेका घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रुपमा आएका उल्लेख गरे ।

डा. विन्दु शर्माले अन्तिम प्रश्न कथाकृतिभित्रका कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको बताइन् । सन्दर्भ र परिवेशअनुसारका पात्रको चयन, उनीहरुको समाज र परिवेशअनुसारकै संवाद, कथाभित्रको द्वन्द्व, पात्रहरुबीचका परिघटनाहरु निकै परिपक्व रहेको धारणा उनले राखिन् ।

कवि पत्रकार घनेन्द्र ओझाले कवि, गीतकार, गजलकार हुँदै आख्यान लेखनमा प्रवेश गरेका घिमिरेका कथामा खास नेपाली माटोको, नेपाली संस्कृति र सभ्यताको अनि नेपाली भाषा र पनको स्वाद पाइने बताए ।

कथाकार घिमिरेले आफू लामो समयसम्म सेतो घोडाको नियति बाँचेको र कार्यव्यसनमा आफैँ पनि फसेको बताउँदै धेरैजसो कथा आफ्नै देखाइ, भोगाइ र अनुभूति भएको उल्लेख गरे । अब उपन्यास लेखनमा रुचि बढेको घिमिरेको भनाइ थियो ।

प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेलले घिमिरेका कथामा रहेको नेपालीपन, आमनेपालीका विषय र आमनेपालीका दुःखको अभिव्यक्तिले पाठकको मन र मस्तिष्कमा गहिरो छाप पार्नसक्ने बताए । पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।