१०० हलबाट हजार जुनीसम्म


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

चलचित्र हजार जुनीसम्म बिहिबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । लामो समय पछि बिहिबार नै यो चलचित्र रिलिज गरिएको हो । यस अघि नेपाली फिल्म शुक्रबार रिलिज गरिन्थ्यो ।

यो चलचित्रलाई मुलुकको करिब १०० ओटा सिनेमा हलमा रिलिज गरिएको छ । फिल्मले पहिलो दिन मल्टिप्लेक्स देखि सिँगल हलमा प्रारम्भिक ब्यापार राम्रो रहेको निर्माण पक्षले जनाएको छ ।

यो फिल्ममा दुई पुस्ताको प्रेम कथा देखाईएको छ । प्रेम पीडामा रहेका आफ्ना बुबालाई बर्षौं पछि उनको मायाँसँग छोराहरुले भेट गराईदिन्छन् । चलचित्रमा पिताको भूमिकामा आर्यन सिग्देल छन् ।
यो चलचित्रमा आर्यन सिग्देलसँगै, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान, संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

फिल्मलाई प्रेम कथामा आधारित पारिवारिक ड्रामा रहेको यसका निर्देशक आचार्यले बताएका छन् । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

फिल्ममा आफ्नो भूमिकाबारे अभिनेता आर्यनले भने,‘फिल्ममा मेरो क्यारेक्टर मायाको पर्खाइमा हुन्छ । उसले निश्चल र निस्वार्थ माया गरेको हुन्छ । उसले मायालाई कहिले भुल्न सकेको छैन् र उ मायालाई हजार जुनीसम्म कुर्न पनि तयार छ ।’

मायाको प्रेमीको भूमिकामा आफु रहेको बताउँदै उनले भने,‘त्यसैलाई बुझेर उसलाई छोराहरुले मायासंग भेटाउन लैजान्छन । मैले मायालाई किन धेरै माया गर्छु अनि किन हामी छुटिन्छौ ? र हाम्रो मिलन हुन्छ कि हुँदैन ? यी सबलाई फिल्ममा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । साथै, हामीले पोखराबाट सिक्किमसम्मको यात्रा तय गरेका छौ ।’ फिल्ममा आफ्नो भूमिका दर्शकले रुचाएको पनि उनले बताए ।

यो चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले हजार जुनीसम्ममा काम गर्दाको अनुभवबारे भनिन्,‘आफु भन्दा सिनियर र अनुभवी कलाकारसंग काम गर्न पाउँदा धेरै कुरा सिकेकी छु । फिल्ममा म चुलबुले क्यारेक्टरको रुपमा देखिएकी छु । फिल्ममा सिकिमको युवतीको भूमिकामा छु । फिल्म हेर्दा मेरो सिकिमे पन दर्शकको लागि भने नयाँ हुनेछ ।’