ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

नेपाली चलचित्रमा खलनायिका नगन्य जस्तै छन् । नेपालमा महिला केन्द्रित फिल्म निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । त्यसैले पनि खलनायक कम भएको हुनुपर्छ । निर्माण भएका फिल्मले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् ।

यसकारण पनि यस प्रकारको फिल्म निर्माण गर्न मेकरले हत्तपत्त जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, आउँदो ६ भदौबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’ लाई महिला केन्द्रित फिल्म भनिएको छ । यो फिल्मको खल नायिकामा श्रृजना रेग्मी अहिले चर्चामा छिन् ।

फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिकामा छिन् । उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । यो फिल्ममा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ ।

पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । यो उनको फिल्मी करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । एक महिलाले लिने प्रतिशोधको कथामा फिल्म निर्माण गरिएको बताईएको छ ।

नव अभिनेत्री श्रृजना रेग्मी फिल्ममा भिलेन ’बुलेट’को भूमिकामा छिन् । फिल्ममा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।

‘जाइरा’ रिलिज अगावै श्रृजनालाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ ।

नम्रता र श्रृजनासँगै यो फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् ।