अस्कर कलेजले अभिभावकलाई फिल्म बुझाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिबार ओपन हाउस इभेन्ट गर्दैछ । सो कार्यक्रममा त्यो कलेजमा पढ्ने विद्यार्थीका अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराइनेछ ।

कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन् । कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो । यसमा एक दिनका लागि फिल्मका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ ।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । पन्तका अनुसार त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा जानकारी गराउनेछ । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् ।

कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ । त्यसैले इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन् ।

क्यामरा मात्र हैन, इभेन्टमा सहभागीलाई लाइभ एक्टिङको अनुभव पनि गराइने छ । कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाउनेछन् ।

ओपन हाउसकै समयमा अस्कर कलेजकै विद्यार्थीले बनाएका सर्ट फिल्म पनि देखाइने छ । इभेन्टमा विद्यार्थीले खिचेका फोटो पनि प्रदर्शनीमा राखिने एकेडेमिक कोअर्डिनेटर नव श्रेष्ठले जानकारी गराएका छन् ।