पानी नपर्दा चलचित्र आमाको टिमलाई तनाव


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ साउन

हाल छायाँकन भईरहेको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’लाई प्राकृतिक रुपमै परेको मुसलधारे पानीमा खिच्ने योजनामा निर्माण पक्ष छ । यो प्रयासमा उनीहरु जुटिरहेको छन् । तर अहिलेसम्म पनि मुसलधारे पानी नआउँदा आमाको छायाँकन प्रभावित भएको छ ।

यसै क्रममा बिहिबार दिनभर चलचित्र ‘आमा’को टिम कोटेश्वरमा थियो । कोटेश्वरमा बसेर दिनभर पानी कुर्दा कुर्दा पानी परेन । त्रिभुवन विमानस्थलको रन वेसम्म परेको पानी कोटेश्वर चोकमा परेन । पानी नपरेपछि दिनभर टिम सक्रिय त भयो, तर काम हुनै सकेन ।

‘यस्तो समस्या हाम्रो टिमले भोगेको आज पहिलो पटक होइन । कैयौ पटक पानी नपर्दा यो समस्या परेको छ ।’ निर्देशक खनालले भने,‘सोही कारण फिल्मको लागतमा मात्र होइन काम गर्न पनि समस्या परेको छ । पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौं ।’ तर, पानी नपर्दा दृश्य खिच्न नसकिएको उनले बताए ।

चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा छोरीको भूमिकामा छन् । चलचित्रको रिलिज मिति ९ फागूणलाई तोकिएको छ ।

कास्तो पानी चाहिएको हो भन्ने जिज्ञाँसामा निर्देशकले भने–‘हामीलाई सानो पानी परेर मात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन ।’

अरु कुनै उपाएले कृतिम रुपमा पानी देखाएर चलचित्र खिच्न मिल्दैन र ? निर्देशक दिपेन्द्रले भने,‘क्लोज सर्टमा त संभव होला । तर, वाइड सर्टमा त पानी नै पर्नुपर्छ ।’

दिपेन्द्रले दैनिक २ लाख रुपैयाँ भन्दा बढी खर्च भए पनि काम हुन नसकेको बताए । निर्देशक खनालले निराश हुँदै भने–‘खै म त के गरुँ गरुँ निर्णय नै गर्न सकेको छैन । अब, सबै दृश्यमा पानी चाहिन्छ । तर, मौसमले साथ दिएन ।’

यो चलचित्रको छायांकन १६ असारबाट सुरु भएको हो । निर्देशकले सोचेअनुसार काम नहुँदा अप्ठ्यारो परिरहेको छ । अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ । अब, ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ ।
शर्मिला पाण्डेको लगानी रहेको यो चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण भईरहेको छ ।