बन्ने भयो रिजन अफ रिया, छानिए कलाकार


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

चलचित्र लक्ष्यबाट निर्देशनमा हात हालेका निर्देशक मिलन आलेमगर यतिबेला नयाँ चलचित्रको निर्देशन तयारीमा छन् । उनको निर्देशनमा नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ ।

सम्पूर्ण प्रि प्रोडक्सनका काम सकिने अबस्थामा पुगेको यो फिल्मको अहिले गीत रेकर्डिङ चलिरहेको छ । गीत रेकर्डिङसँगै कलाकारहरुको कार्यशाला पनि सुरु गरिएको यसको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंको घट्टेकुलो स्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा यो चलचित्रको गीत रेकडिङ गरिएको छ । स्टुडियोमा मँगलबार गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत रेकर्ड गरियो । जसमा विकाश चौधरीको संगीत रहेको थियो । 

यो चलचित्रका निर्देशक मिलन आलेमगरका अनुसार रिजन अफ रियाको छायाँकन यही महिनाको अन्तिमबाट सुरु गरिने भएको छ । काठमाडौंदेखि ३० साउनबाट छायाँकन सुरु गरिने यो चलचित्रको काठमाडौं पछि मुस्ताङको जोमसोम, लगायत विभिन्न ठाउँमा सुटिङ गरिने छ ।

यो चलचित्रका कलाकारमा नविन अधिकारी, कसिस दाहाल, करण सिंह बोहोरा, विकास थापामगर लगायत रहेको छन् । 

धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने यो चलचित्रमा देव महर्जनको द्धन्द्व निर्देशन, यम आलेमगरको छायाँकन, विकास चौधरीको संगीत रहने छ ।