मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौ, १८ साउन

मिस नेपाल वल्र्ड–०१९ बिजेता अनुष्का श्रेष्ठलाई अमेरिकाको क्यालिफोर्नीया स्थिति हिमालयन फाउन्डेशन कपले बिहीबार एक समारोहमा सम्मान गरेको छ । केही दिनदेखि अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ । उनलाई अघिल्लो प्रोजेक्टको लागि यो रकम सहयोग गरिएको हो ।

आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए । हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलालले आफूले अनुष्काको अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै हरेक नेपालीले समाजसेवी भावना बिकास गर्नुपर्ने धारणा राखे ।

सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा बिद्यमान चेलीबेटी बिचबिखन समस्यामा निर्मुल पार्न र त्यहाँको बिकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नीयाको बे–एरियामा रहेका नेपालीबीच आयोजीत अन्तरक्रियाबाट सो रकम संकलन भएको हो ।

अनुष्काले अन्तरक्रिया कार्यक्रममा आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न लागीरहेको बताइन् । जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको उनले खुलाइन् । बिश्वमा जहा रहे तापनि सबै नेपालीमा सहयोगी भावना पाएकाले आफू सफल हुने बिश्वास उनले ब्यक्त गरिन् ।

तेक्वान्डो खेलाडी लक्ष्मण ऐर क्षत्रीलाई उनले खेलजगतमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको कार्यक्रममा हिमालयन रियल स्टेज ग्रुप क्यालिफोर्नीयाका अध्यक्ष सुरज पाख्रिन, हिमालयन फाउन्डेशन क्रपका संयोजक प्रमीश ढकाल, नान्सका अध्यक्ष इश्वर सिटौला, फिल्म निर्देशक श्याम भट्टराई, क्यालिफोर्नीया तमु समाजका उपाध्यक्ष कुमार दोंगलगायतले मिस नेपाल अनुष्कालाई शुभकामना ब्यक्त गरेका थिए ।