मृगौला पीडित मोडल अम्मलको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

अम्मल राई नयाँ पुस्ताकी मोडल हुन् । अम्मलले मिस रिपब्लिक २०१६ मा सहभागी भएर मोडलिङ यात्रा सुरु गरेकी हुन् ।

उनी पछिल्लो समय स्वस्थ्य अबस्थाका कारण पीडामा छिन् । ६ वर्ष अघि दुबै मृगौलामा समस्या देखिएकी यी मोडल बिगत दुई वर्ष यताबाट नियमित रुपमा मृगौलाको डाईनोसिस गराईरहेकी छिन् । दुबै मृगौला फेल भएका कारण हप्तामा दुई दिन डाईनोसिस गर्नु परे पनि बाँकी समय उनी मोडलिङमा रम्न चाहन्छिन् ।

धनकुटाको छिन्ताङ, साईभूमिमा बिदेश बहादुर राई र मोतीमायाँ राईको कान्छी छोरी अम्मल राईले मोडलिङसँगै म्युजिक भिडियो र टेली रिलियलमा पनि आफुलाई व्यस्त राख्न चाहन्छिन् । उनले मिस लिपब्लिक २०१६ मा मिस डिसिप्लेनको उपाधि जितेकी थिईन् । त्यसपछिबाट अम्मलले आफ्ना मोडलिङ यात्रालाई जेनतेन अघि बढाएकी छिन् ।

दुबै मृगौला फेल भएका कारण आफ्नो जीवनको भर नभएको अम्मलले बताईन् । मृत्यु जुन दिन पनि हुनसक्ने भएकाले बाँचुञ्जेल आफुले चाहेको सबै सपना पुरा गर्ने यी मोडलको चाहना छ ।

मोडल अम्मललाई अहिले स्वास्थ्य उपचारको लागि आर्थिक सहयोगको ठुलो समस्या छ । उनी मृगौला फेर्न चाहन्छिन् । तर अम्मलसँगै पैसा छैन । दिदीले मृगौला दिन्छु भन्दा पनि मृगौला फेर्न १७ लाख रुपैयाँ लाग्ने भएकाले त्यो पैसा नभएकै कारण मृत्युसँग अहिले सँघर्षगरिरहनु परेको यी मोडलले बताईन् ।

मृगौला फेर्न १७ लाख त धेरै ठुलो रकम भयो । अहिले आफुलाई नियमित मृगौला डाईनोसिस गर्ने पैसा समेत नभएको र पारिवारसँग पनि पैसा सकिएकाले अबको जिन्दगीलाई कसरी बचाउने भन्ने तनावमा आफु भएको पनि अम्मलले बताईन् । यही तनावबाट मुक्त हुन र काम गर्दा गर्दै त्यसैमा रमाउन आफुलाई मोडलिङ तिर मोडेको पनि यी मोडलले जानकारी गराईन् ।

उनले अभिनय गरेको हास्य टेली सिरियल ल्याप्चे कमेडी एन टिभी प्लसबाट प्रशारण भएको थियो । उनले मोडलिङ गरेको गीत चट्ट खाईदेउ चट्पटे…निकै चर्चामा रहेको छ । विश्व शान्ता राईले गाएको यो गीतमा अम्मलसँगै गायक विश्वले पनि मोडलिङ गरेका छन् ।

‘यो मृगौला पीडितलाई सक्नु हुन्छ भने बाँच्नको लागि आर्थिक सहयोग गर्नुस्, सक्नु हुन्न भने पैसाको लागि मोडलिङ र अभिनयसम्बन्धि कुनै पनि काम दिनुस् । यसरी काम गरेर कमाएको पैसाले मैले आफ्नो मृगौलाको डाईनोसिस गरेर केही समय भए पनि आफुलाई बचाउन सकुँ ।’ ब्युटी न्युज नेपालसँगको कुराकानीमा निकै भावुक हुँदै यी मोडलले भनिन् ।

तस्बिर : प्रदीप कंडेल
शब्द/मेकअप : सरिता भारती
लोकेसन : बेस्ट भेन्यु स्विमिङ पुल कालो पुल