असोज ३ मा कबड्डी ३ आउँदा लभ डायरिजलाई तनाव


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

१३ भदौमा दक्षिण भारतीय स्टार प्रबासको फिल्म साहो आउने भएपछि निर्माता निर्देशक रामबाबु गरुङले आफ्नो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को रिलिज मिति ३ असोजमा पुर्याएका छन् ।

यो फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतको अभिनय छ ।

यसरी एक्कासी ‘कबड्डी कबड्डी कबड्डी’ ३ असोजमा सर्दा सोही मितिमा रिलिज कुरेको फिल्म लभ डायरिज प्रभावित हुने भएको छ । कबड्डीको २ ओटा सृँखलाको सफलता पश्चात यो तेश्रो सृँखला हो । त्यसैले यो राम्रो बनेको होला भन्ने आशा गरिएको छ ।

प्राविधिक कारणले सिनेमाको प्रदर्शन मिति सारिएको निर्माण टिमले दाबी गरे पनि १३ भदौमा साहो आउने भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ सरेको हो ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमा कबड्डी कबड्डी कबड्डी आफुहरुसँग जबरजस्ती जुधाउन ल्याएको भन्दै लभ डायरिजका निर्देशक सौभर चौधरीले आक्रोस पोखेका छन् । आफुहरु नयाँ भए पनि फिल्म राम्रो बनेको बताउँदै अब कबड्डी कबड्डी कबड्डीसँग आफुहरु भिड्ने चेतावनी चौधरीले दिएका छन् ।