गीता, सारिका र पुजनाको नयाँ तिज गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

सञ्चारकर्मी गीता अधिकारी गीतकारको रुपमा पनि स्थापित हुँदैछिन् । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी गीताले यसपाली ‘तीजैमा ब्रत बसी…’ गीतको भिडियो ल्याएकी छिन् ।

मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियोलाई राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । अभिनेत्री तथा गायिका सारिका घिमिरेले यो गीत गाएकी हुन् । अभिनेत्री पुजना प्रधान, सारिका घिमिरे र सञ्चारकर्मी गीतालगायतका कलाकारले भिडियोमा अभिनय गरेका छन् ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीताले कार्यक्रममा भनिन् ।
गीत ‘तीजैमा ब्रत बसी…’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीले सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा नेपाली पहिलो रङ्गीन चलचित्र कुमारीकी अभिनेत्री चैत्यदेवी, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिप्रिय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार डा. डीआर उपाध्याय, वसन्त वित्यासी थापालगायतले भिडियो र गीतको सफलताको कामना व्यक्त गरे ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् ।

‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, पक्कै पनि सबैले मन पराइदिनुहुन्छ भन्ने लाग्छ’ नायिका पुजनाले भनिन् ।

‘गतवर्ष भन्दा अलिक फरक खालको गीत लिएर आएका छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनेको बताइन । ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट आएको छ ।