रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

चलचित्र घर शुक्रबारबाट मुलुकका विभिन्न सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रेस प्रदर्शनीमा घरले राम्रै प्रतिक्रिया भयो । केहीले टिप्पणी गरे पनि धेरैजसोले फिल्मलाई राम्र्रै भने ।

भूतको कथामा आफूले निर्देशन गरेको अघिल्लो चलचित्र ‘सुन केसरी’ले राम्रो व्यापार गरेपछि निर्देशक अभिनेता अर्पण थापाले फेरि भूतकै कथामा आधारित अर्को चलचित्र ‘घर’ निर्देशन गरेका हुन् ।

घरका एक निर्माता दीपेन्द्र के खनालका अनुसार शुक्रबार बिहान र मध्यान्नको शो यो फिल्मको व्यापार राम्रो रह्यो । तर दिउँसोको एक शो मुसलधारे पानीले केही प्रभाव पार्यो । शनिबार बिहानको शो सबैजसो हलमा राम्रो रहेको पनि खनालले व्युटी न्युज नेपाललाई बताए ।

हरर्र जनराको यो फिल्म शुक्रबारबाट मुलुकका करिब ८० वटा सिनेमा हलमा रिलिज भएको हो । यो फिल्मको ट्रेलर आएपछि यसप्रति दर्शकको चसो बढेको हो । हेर्ने दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

सस्तोमा काठमाडौंमा किनिएको एक घरमा रहेका दुई भूतले एक परिवारलाई दिएको दुःखमा यो फिल्म आधारित छ ।
फिल्ममा निर्देशक अर्पण थापासहित अभिनेत्री बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाललगायतको मुख्य भूमिका छ । सानो बजेटको फिल्म घरमा हल प्रदर्शनबाट आफुहरुलाई २५ लाख रुपैयाँ मात्र आउँदा पनि लगानी सुरक्षित हुने निर्माता खनालले बताए ।

चलचित्रलाई निरज कँडेलले खिचेका हुन् । अर्पण थापाले नै लेखेको यो चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो ।