छबी शिल्पा प्रकरण –ज्यानको असुरक्षा देखाउँदै शिल्पा घर फर्किनन्


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

चर्चित निर्माता छबिराज ओझा र उनकी पत्नी एवम् अभिनेत्री शिल्पा पोखरेल बीचको सम्बन्ध अझै सुधार भएको छैन । यी दुई दम्पतीलाई प्रहरीले मिलेर बस्न सुझाब दिँदै बुधबार घर फर्काए पछि पनि अभिनेत्री शिल्पा आफ्नो पति छबिराजको घर फर्कने पक्षमा छैनन् ।

पति छविराज ओझाको घरबाट दुई साता अघि निक्लिएकी अभिनेत्री शिल्पा पोखरेलले आफ्नो ज्यानको सुरक्षालाई ध्यानमा राख्दै तत्काल घर नफर्किने बताएकी छिन् ।

ब्युटी न्युज नेपालसँगको कुराकानीको क्रममा पति छविराजको घरमा आफ्नो ज्यान जानसक्ने भएकाले ज्यानको सुरक्षाको हेतुले पनि अन्यत्र शरण लिनु परेको यी शिल्पाले बताएकी छिन् । उनी ९ असारदेखि नै चलचित्र निर्देशक सम्झना रौनियारको घरमा बसिरहेकी छिन् ।

आफूले पत्नी शिल्पालाई कुनै हातपात नगरेको सामान्य भनाभन मात्र भएको निर्माता छबिराजले बुधबार ब्युटी न्युज नेपाललाई बताएका थिए । पति छविराजले मिडियासँग सरासर झुटो बोलेको आरोप अभिनेत्री शिल्पाले लगाएकी छिन् ।

घटनाको बारेमा ब्युटी न्युज नेपाललाई जानकारी गराउँदै अभिनेत्री शिल्पाले भनिन्, ‘गत असार ८ गतेको कुरा हो । त्यो दिन दुई जना साथीसँग म फिल्म हेर्न जान्छु भन्दै थिएँ । छविराललाई मेलै फिल्म जान्छु भन्दा किन रिस उठ्यो, त्यो थाहा भएन । उहाँले मलाई फिल्म हेर्न जानु दिनुको सट्टा गाली गर्दै ममाथि अन्धधुन्ध हातपात गर्नु भयो । सोही क्रममा मेरो गाला र कानमा हिर्काउँदा कानको जाली फुट्यो र गाला सुन्नियो । उहाँले मलाई मार्ने उद्देश्यले घाँटी थिचेपछि म फुत्किएर ज्यान बचाएर घरबाट भागेकी हुँ ।’

त्यो दिन आफुले जबरजस्ती बल गरेर घरबाट नभागेको भए ज्यान जान सक्ने पनि शिल्पाले बताईन् । त्यहाँबाट भागेर बिकाश रौनियार दाईको घरमा आफुले शरण लिँदै आएको पनि शिल्पाले बताईन् । अब कहिले घर फर्कने भन्ने जिज्ञाँसामा उनले अगाडि थपिन्, ‘मेरो ज्यानको सुरक्षा अहिले पनि नभएका कारण म अहिले नै घर फर्किन्नँ । वकिलसँग सल्लाह गरेर अब के गर्ने र कसरी म सुरक्षित हुने भन्ने ग्यारेन्टी गरेर मात्र अगाडीको कदम चाल्नेछु ।’

त्यसैले आफू घर कहिले फर्कने भन्ने अहिले नै निर्णय गर्ने अवस्था नरहेको र पहिला आफू घरेलु हिंसाबाट कसरी सुरक्षित हुने भन्नेबारे उपाय खोजिरहेको पनि यी अभिनेत्रीले बताएकी छिन्,‘जहाँ मेरो ज्यानको सुरक्षा छैन, त्यहाँ म कसरी जाउँ । म अहिले त्यो घरमा फर्किएँ भने मलाई बिगतको भन्दा बढी यातना हुनसक्छ । त्यसैले म अहिले तत्काल कुनै पनि हातमा घर फर्किने अबस्थामा छैन ।’ अभिनेत्री शिल्पाले हामीसँग भनिन् ।

आफुलाई गालीसँगै हातभात गरेको भन्दै चलचित्र निर्माता छविराज ओझा बिरुद्ध अभिनेत्री शिल्पाले शान्ति सुरक्षाको माग गर्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी हालेकी थिईन् । शिल्पाको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार शिल्पा र छबिराज दुबैलाई परिसरमा बेलाएको थियो । प्रहरीको रोहबरमा यी दुईबीच करिब डेढ घन्टा कुराकानी भयो ।

सोही क्रममा पति छविराज ओझाले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागे । छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो ।

तर आफुहरुबीचको बिवाद नसकिएको शिल्पाले बताएकी छिन् । आफुले जस्तै घरेलु हिँसा नसही प्रहरीमा आउन अभिनेत्री शिल्पाले अरुलाई पनि अनुरोध गरेकी छिन् ।

पति छबिराजले शिल्पासँग आफूले माफी मागिसकेको र अब त्यस्तो नहुने दाबी सञ्चारकर्मीसँग गरेका छन् । ओझाले पत्नी र आफ्नो समस्या समाधान भइसकेको पनि प्रहरी परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा बताएका थिए । आफुहरुबीच अब कुनै पनि समस्या नरहेको र शिल्पा चाँडै घर फर्कने विश्वास छविले व्यक्त गरेका छन् ।

छबिराज ओझा र शिल्पा पोखरेलले तीन वर्ष अघि विवाह गरेका हुन् । तर छबीराज र शिल्पाले विवाह दर्ता भने ६ महिना अघि मात्र गरेका थिए । यी दुईले आफ्नो बैवाहिक सम्बन्धलाई अहिलेसम्म लुकाउँदै आए पनि यसपटक यो सम्बन्ध प्रहरीसम्म पुगेर छातछुल्ल भएको छ ।

छबिराजको चौथो पत्नीको रुपमा शिल्पाले विवाह गरेका हुन् । रमाईलो प्रसँग के भने, छबीले दोश्रो तेश्रो र चौथो विवाह नायिकाहरुसँगै गरे । अभिनेत्री गिताञ्जली सुनुवारलाई दोश्रो पत्नीको रुपमा, अभिनेत्री रेखा थापालाई तेश्रो पत्नीको रुपमा र अभिनेत्री शिल्पा पोखरेललाई चौथो पत्नीको रुपमा छबिराजले भित्राएका हुन् ।

यी तीन ओटै नायिकाहरुलाई आफ्नो फिल्म खेलाएर, प्रेम गरेर उनले विवाह गरेका हुन् । अब शिल्पासँग छबिराजको सम्बन्ध कस्तो हुन्छ । त्यो भने आउँदो समयले बताउने छ ।