भट्टीवाली बनेर आर्यनसँग नाचिन दीपाश्री


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

अभिनेता आर्यन सिग्देल र चलचित्र निर्देशक तथा हास्य अभिनेत्री दीपाश्री निरौलाले भट्टीको परिवेशमा तयार गरिएको एउटा गीतमा नृत्य गरेका छन् ।

आगामी ६ भदौबाट सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत आज नगद भोलि उधारो…मा आर्यन र दीपाले अभिनय गरेका हुन् । यो गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत र प्रल्हाद तिमिल्सिना, मिना निरौला, दीपाश्री निरौलाको स्वर छ ।

यो गीतको भिडियोलाई शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको छ । आर्यन र दीपाको नृत्य रहेको यो गीतको भिडियोमा शिवहरी पौडेल पनि छन् । निर्देशक दिपाश्री यो गीतमा आईटम डान्सरको रुपमा प्रस्तुत भएकी छिन् । गीतमा दीपाले भट्टीको साहुनीको भूमिका निर्वाह गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ ।

गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसीको पनि अभिनय रहेको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

विकासराज आचार्यको निर्देशन रहेको यो चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । हजार जुनीसम्ममा संचिता लुइँटेल, अनुभव रेग्मीलगायतको पनि अभिनय छ ।

यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यो फिल्मको कार्यकारी निर्माता कविता रेग्मी हुन् । फिल्मलाई विशाल चाम्लिङले निर्माण गरेका हुन् ।