आयुषलाई बासुदेव मुनाल बाल प्रतिभा पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ बाट पुरस्कृत भएका छन् । स्व. बासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरे ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । स्व. बासुदेव मुनालको स्मृतीमा गठित बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा स्व. मुनालको तश्विरमा प्रमुख अतिथी विष्टसहित अन्य अतिथीहरुले फूल अर्पण गरेका थिए ।

कार्यक्रममा मन्त्री विष्टले बासुदेव मुनालले बाल साहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनी आफू पनि स्व. मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए । पूर्व प्रधानन्यायाधीश तथा बासुदेव मुनाली बालसखा सुशीला कार्कीले विराटनगर रहँदा मुनालसँग एउटै विद्यालय र क्याम्पसमा अध्ययन गर्दाको स्मरण सुनाईन् ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो, जहाँ रक्षामन्त्री इश्वर पोखरेल, बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरी बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रम मन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत् बाल साहित्य र गायन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाई प्रा. डा. उपेन्द्र कुमार कोइराला (मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति) दाई मुनाललाई सम्झँदा निकै भावविह्वल भएका थिए । उनले फाउन्डेशनमार्फत् आयुषझैं प्रतिभा भएका धेरै बालबालिकालाई पुरस्कृत गर्ने बताए ।

स्वर्गीय गायक मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’ लगायत १५० वटा आधुनिक गीत, सयवटा वालगीत, १२० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीत गाएका छन् । स्व. मुनालले ’हाम्रा शत्रु (बाल चित्रकथा संग्रह)’, ’पि पि गर्छ बाजा (बालगीत संग्रह)’, ’घैँटोमा घाम (बालनाटक संग्रह)’, ’हराएको हात (बालकथा संग्रह)’ लगायतका बाल साहित्यिक पुस्तकहरु पनि प्रकाशित गरेका थिए । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए ।