ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

गलबन्दी गीतको विवादले तीन सातासम्म तनाव खेपेका गायक प्रकास सपूत बुधबार बिहान निकै खुसी देखिन्थे । उनी ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर घोषित हुने क्रममा खुसी देखिएका हुन् ।

कार्यक्रममा गीत संगीत प्रस्तुत सहित डिएनएले बुधबार प्रकाशलाई एम्बेस्डरको घोषणा गरेको हो । पुरुषहरुका लागि कपडा उत्पादन गर्दै आएको डिएनएले एउटा ट्रलीमा भरिएको कपडामाथि प्रकाशलाई राखेर ट्रली गुडाउँदै मञ्चमा पुर्याएको थियो । त्यतिबेला प्रकाशले दोहोरी व्याटरको गीतमा र्याप गर्दै थिए ।

एकबर्षका लागी एम्बेस्डरको रुपमा प्रकाशले डिएनएसँग हस्ताक्षर गरे । सोही कार्यक्रममा डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए,‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने,‘ ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’

कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको गीत प्रस्तुत गरेर समारोहलाई संगीतमय तुल्याएका थिए । डिएनएका उत्पादक केदारले पछिल्लो समय युवापुस्ताबीच प्रकाशको लोकप्रियता देखेरै आफुहरुले उनलाई आफ्नो ब्राण्डको एम्बेस्डरको रुपमा अनुबन्धित गरेको बताए ।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा क्रिएटर हुन् । यसको संगीत विवादपछि संगीतकार शम्भु राईको नाम राख्नेगरी बिवाद मत्थर भएको हो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीतहरु रुचाइएका छन् ।