श्रीमान छविराज बिरुद्ध अभिनेत्री शिल्पा प्रहरीमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

दर्शकबृन्द अभिनेत्री शिल्पा पोखरेलले आफुलाई श्रीमान् छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै न्यायका लागि प्रहरीमा उजुरी दिएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रका द्धिग्गज निर्माता छविराज ओझा र शिल्पा पोखरेल विगत तीन वर्षदेखि दाम्पत्य सम्बन्धमा छन् । यसै क्रममा असार ८ गते छबीले आफुलाई हातपात गरेको यी अभिनेत्रीको भनाई छ ।

उनले आफुमाथि घरेलु हिंसा भएकाले शान्ति सुरक्षा पाउँ भन्दै आईतबार अर्थात २२ असारमा काठमाडौं महानगरीय प्रहरी परिसरमा श्रीमान ओझा बिरुद्ध उजुरी दिएकी हुन् ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्त एवम् प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीका अनुसार परिसरमा अभिनेत्री शिल्पा पोखरेलको तर्फबाट आफुमाथि घरेलु हिंसा भएको किटानी सहित शान्ति सुरक्षा पाउँदै भन्दै श्रीमान छबिराज ओझाका बिरुद्ध उजुरी परेको छ । शिल्पा र छविराजलाई यो विषयमा छलफल गर्न काठमाडौं महानगरीय प्रहरी परिसरमा बुधबार बोलाईएको थियो । तर निर्माता छबीराज ओझाले आफु विरामी भएको जानकारी गराएपछि छवीराज र शिल्पालाई यो विषयमा छलफल गर्नका लागि बिहिबार प्रहरी परिसरमा बोलाईएको छ ।

यता आफुमाथि ८ असारमा श्रीमानबाट हातपात भएको भन्दै अभिनेत्री शिल्पा त्यही साँझबाट एकजना साथीको घरमा बस्दै आएकी छिन् । कानको समस्याले कुरा गर्न नमिल्ने भन्दै उनी बुधबार मिडियासँग सम्पर्कमा आएकी छैनन् ।
उता शिल्पाका पति एवम् बरिष्ट चलचित्र निर्माता छबिराज ओझा पनि स्वास्थ्य अबस्था ठिक नभएको भन्दै बुधबार दिउँसो मिडियाको फोन सम्पर्कमा आएनन् । यी दुबैजना बिहिबार प्रहरी परिसरमा भेला हुने जानकारी प्रहरीबाट प्राप्त भएको छ । घरेलु झगडाका कारण प्रहरीसम्म पुगेको छबी र शिल्पाको यो प्रकरणले अब कुन रुप लिन्छ । त्यो हेर्नबाँकी छ ।

अभिनेत्री शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाको विवाह २९ असार २०७३ सालमा भएको हो । त्यसअघि यी दुई बीचको सम्बन्ध नायिका र निर्माताको रुपमा रहेको थियो । चौथो श्रीमतीको रुपमा अभिनेत्री शिल्पाले छविराज ओझासँग विवाह गरेकी हुन् ।

अभिनेत्री शिल्पा पोखरेललाई निर्माता छबीराज ओझाले नै २०७२ सालमा आफ्नो फिल्म ‘लज्जा’बाट नायिकाको रुपमा नेपाली चलचित्र क्षेत्रमा भित्राएका हुन् । त्यस अघि चलचित्र सम्पादक विकाशसँग विवाह गरेकी शिल्पाको म्युजिक भिडियो खेल्ने क्रममै विकाशसँग वैवाहिक सम्बन्ध विच्छेद भएको थियो । यसरी शिल्पा पनि एक्लो र छविराज पनि एक्लो भएका कारण चलचित्र लज्जाको छायाँकनकै क्रममा यी दुईबीच मायाँप्रेम बस्यो । अनि २९ असार २०७३ मा यी दुबैजनाले गोकर्ण रिसोर्टमा नजिकका साथी बेलाएर विवाह गरे ।

विवाह पछि छविराजले निर्माण गरेको तीन ओटा फिल्म किस्मत–२, हवल्दार सुन्तली र मँगलम्मा नायिका भएर अभिनेत्री शिल्पाले अभिनय गरिन् । यी दुईबीच विवाहको दुई वर्षसम्म पनि सम्बन्ध राम्रो थियो ।

निकटतम् सुत्रका अनुसार पछिल्लो केही समय यताबाट अभिनेत्री शिल्पा र उनका पति एवम् निर्माता छविराज ओझासँग सम्बन्ध राम्रो छैन । मँगलम् पछि शिल्पाले राम्रो ब्यानरको फिल्म पनि आएकी छैनन् । एक वर्ष यताबाट निर्माता छबिले पनि फिल्म बनाएका छैनन् । यी दुइजनासँगै बस्दै आए पनि उनीहरुबीच सम्बन्ध चिसो भएको शिल्पाका साथीहरुले बताएका छन् ।

तीन वर्ष अघि छवि र शिल्पाले विवाह गरे पनि उनीहरुले आफ्नो विवाहको बारेमा खुलाएका थिएनन् । आफुहरु श्रीमान र श्रीमती भएको कुरा शिल्पा र छबिराजले मिडियामा खोलेका थिएनन् । नेपाली चलचित्रमा सँघर्षरत अभिनेत्री शिल्पाले आफ्नो फिल्मी करिअरमा असर पर्ने देखेर छविराजसँगको विवाह सम्बन्धलाई लुकाएरै राखेकी थिईन् । यी दुबईबीचको सम्बन्ध गत वर्ष अभिनेत्री रेखा थापामार्फत खुलासा भएको हो ।