जात्रै जात्राको ५१ दिनमा श्वेता फाउन्डेसनलाई सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

चलचित्र जात्रै जात्राले शनिबार काठमाडौं उपत्यकाका ७ ओटा सिनेमा हलमा आफ्नो प्रदर्शनीको ५१ दिन मनाएको छ ।

यो फिल्मले काठमाडौंको क्युएफएक्स सिनेमाका सिभिल मल र लविम मलमा, एफक्युव सिनेमा केएल टावल चावहिलमा, गोपिकृष्ण मूभिज चावहिलमा, गुण सिनेमा ग्वार्कोमा, बिएआर सिनेमा गोंगबुमा र अष्टनारायण सिनेमा बालाजुमा सफल प्रदर्शनीको ५१ दिन मनाएको हो । ५१ दिन पुगेको अबसरमा निर्माण टिमले काठमाडौंको सोल्टी होलटस्थित प्रिभ नेपाल डिस्को थिएटरमा पार्टी आयोजना गर्यो ।

फिल्मका ५१ दिनको सफलतामा मदिरा पार्टीसँगै जात्रै जात्रा फिल्म निर्माण टिमले सानो सामाजिक काम पनि गरेको छ ।

अभिनेत्री श्वेता खड्कालाई सिन्धुपालचोक स्थित माझी नमूना बस्ती निर्माणका लागि जात्रै जात्रा टिमका तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरियो । कार्यक्रममा यो फिल्मका सहयोगीहरुलाई प्रमाणपत्र पनि प्रदान गरियो ।

गत बैशाखको अन्तिम साता को बन्छ करोडपति खेल्ने क्रममा जात्रै जात्राका तर्फबाट अभिनेता दयाहाङ राई र गिवपिन कार्कीले त्यहाँ जितेको पैसा श्वेता खड्काको श्वेता फाउन्डेसनलाई प्रदान गर्ने भएका थिए । तर त्यो गेममा यी दुई अभिनेताले जम्मा १० हजार रुपैयाँ मात्र जोगाउन सफल भएकाले त्यसमा १ लाख १ हजार १११ रुपैयाँ थपेर श्वेता फाउन्डेसनलाई १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको निर्देशक प्रदीप भट्टराईले कार्यक्रममा बताए ।

सो खुसीमा खान पिनसँग, नाचगान त छँदै थियो । पार्टीमा सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले मदिरामा रम्दै रमाईलो गरे । अभिनेत्री वर्षा राउत, पुजा शर्मादेखि विभिन्न सिनेकर्मी र सञ्चारकर्मी पनि सो पार्टीमा धित खोलेर नाचेको देखियो ।

५१ दिनमा ९ करोड ६० लाखको व्यापार नेपालबाट गरेको भनिएको यो फिल्मको निर्माण पक्षले सिन्धुपालचोकको नमुना बस्ती निर्माणका लागि यो सानो सहयोग गरेको हो । पार्टीमा मदिरा हटाएर मदिरामा खर्च हुने केही लाख रुपैयाँ माझी बस्ती निर्माणलाई थप सहयोग गरेको भए ५१ दिनको सफलता अझ सार्थक हुन्थ्यो भन्ने प्रतिक्रिया पनि सो मदिरा पार्टीमा सुन्न पाईयो ।