अवार्ड नहुने भएपछि आईफाका आयोजक फर्किए


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

अवार्ड गरेर नेपालको करिब ५० करोड भारत लैजाने तयारीका साथ बसेका इन्टरनेसनल इन्डियन फिल्म अवार्डका आयोजकहरु बिहिबार भारत फर्किएका छन् । काठमाडौंमा २० औं आईफा अवार्ड गर्ने भनेर आयोजक विजक्राफ्ट इन्टरनेशलनका पदाधिकारीहरु एक महिना भन्दा लामो समयदेखि तयारीका लागि बसिरहेका थिए ।

जनसमुदायबाटै अवार्डको व्यापक बिरोध भएपछि बाबपछि मुख्य प्रयोजकका रूपमा रहेको नेपाल पर्यटन बोर्डले बुधबार सो अवार्डको कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । सो घोषणासँगै नेपालमा यो अवार्ड नहुने भएको छ ।
यही अगस्टमा सो अवार्ड कार्यक्रम काठमाडौंमा गर्ने भन्दै तीन दिन पछि नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकासँग करिब ४५ मिलियन अमेरिकी डलरमा अवार्ड आयोजना सम्झौता गर्न भनेर आयोजक पक्ष काठमाडौंमा बसिरहेको थियो ।

यता आइफा अवार्डको कार्यक्रम हाललाई नेपालमा गर्न नसकिने निर्णयमा पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जब बुधबार बताए । त्यसपछि आयोजकहरु तितर वितर भएका हुन् ।
जोशीले ‘आइफा अवार्ड यो वर्ष गर्न नसके पनि पूर्वाधार तयार भएको खण्डमा आगामी वर्षमा नेपालमा आयोजना गर्न सकिनेछ,’ भन्दै उनीहरुलाई अहिले अवार्ड नगर्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्ले गत ८ साउनमा सो कार्यक्रमका लागि सम्बन्धित मन्त्रालय र चलचित्र विकास बोर्डमार्फत आयोजक संस्था बिजक्र्याफ्टलाई अनुमतिसमेत दिएको थियो । मन्त्रिपरिषद्को ८ साउनको निर्णयमा ‘पर्यटन बोर्डको नेतृत्व र काठमाडौं महानगरपालिकाको सहआयोजनामा आइफा अवार्ड गर्न स्वीकृति दिने’ उल्लेख छ ।

यसरी स्वीकृति पाएपछि आईफा अवार्डका लागि विजक्राफ्टका सञ्चाकहरु ढुक्क थिए । अरु देशमा कार्यक्रम स्थल र अनुमति पाएको भरमा अवार्ड गर्ने यो समुहले नेपालमा सबै खर्च सरकारले गरिदिएर पनि ५० मिलियन अमेरिकी डलर (नेपाली ५० करोड भन्दा बढी) रकम माग्दै आएको थियो ।

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोमबार चलचित्र विकास बोर्डको १९औं वार्षिक उत्सवलाई सम्बोधन गर्ने क्रममा आइफा अवार्डलाई सरकारले पैसा नदिने बताएका थिए । त्यसपछि पर्यटन बोर्डलाई गाह्रो परेको हो ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मँगलबार समितिमा अवार्डमाथि छफफल गर्दै यो अवार्ड मुलुकको अहितमा रहेको दाबी गरेको थियो । सो समितिले यो अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो ।