रुचाईंदै सरौतोको कुले दाई….


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

यस अघि फिल्म पर्वको काले दाई…गीत हिट भएको थियो । अब फेरी अर्को यस्तै दाई वाला गीत आएको छ । आगामी कात्तिक २२ बाट रिलिज गर्ने घोषणा सहित चलचित्र ‘सरौतो’को नयाँ गीत कुले दाई…को भिडियो रिलिज गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले यो गीतको भिडियो रिलिज गरेको हो । भिडियोलाई दर्शकले रुचाउन थालेका छन् ।

सरौतोकी अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंहले यो गीतमा बालिकाहरुको समुहमा लिड गर्दै लोक नृत्य प्रस्तुत गरेका छन् । उनीहरु बेहुला तथा बेहुलीको साथीको रुपमा छन् । भिडियोमा बेहुला र बेहुलीको रुपमा पराकर्म पीजेबी राणा र सम्पदा दाहाल छन् ।

यो गीत लोक शैलीमा बनेको छ । गीतलाई राजन राज शिवाकोटी र मिलन नेवारले गाएका छन् । गीतमा शिवाकोटीकै शब्द, संगीत रहेको छ । यो भिडियोको कोरियोग्राफी निलिशा शाक्यको हो । यही भिडियोबाट उनी फिल्ममा कोरियोग्राफरको रुपमा डेब्यु गर्दै छिन् ।

यो चलचित्रलाई डेब्यु निर्देशकको रुपमा छायाँकन हरि हुमागाईंले निर्देशन गरेका हुन् ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय छ ।

सरौतोमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्धन्द्ध निर्देशन, राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीकोसंगीत रहेको छ । काठमाडौँ, सिम्रौनगढलगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ ।

https://youtu.be/0CuaNAnyAfs