सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिद्धारा निर्देशन


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

आगामी अगष्टमा काठमाडौंमा हुने भनिएको इन्टरनेशलन इन्डिएन फिल्म एकडेमीको आईफा अवार्ड नेपालमा रोकिने भएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यो अवार्ड रोक्न मँगलबार सरकारलाई निर्देशन दिएको छ । सरकारमा रहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै बरिष्ट नेताहरू भीम रावल, अग्निप्रसाद सापकोटालगायतले अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निर्णयको विरोध गरेका थिए । भारतकै प्रस्तावअनुसार यो आयोजना भए देशकै स्वाधिनता धरापमा पर्ने धारणा उनीहरूको थियो ।

नेपालको करोडौं रुपैयाँ खर्च हुनुका साथै नेपालको सांस्कृतिक स्वतन्त्रता र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने देखिएकाले त्यसलाई रोक्न समितिले मँगलबार सरकारलाई निर्देशन दिएको हो ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा आइफा अवार्डको बारेमा छलफल भएको थियो । समितिमा अवार्डले नेपालको संस्कृतिमाथि नै असर पर्नेभन्नेबारे निश्कर्ष निकालिएको थियो ।

छलफलको क्रममा सांसदहरूले आइफा अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव मागेका थिए । सरकारले बैठकको माग बमोजित सो सम्झौता पत्र सर्वाजनिक गरेन । यसरी सम्झौता पत्र प्राप्त नभएपछि समितिले तत्कालका लागि यो अवार्डसँग सम्बन्धित कार्यक्रम रोक्न निर्देशन दिनुका साथै आगामी बैठकमा यससँग सम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय समितिले गरेको छ ।

समितिका अनुसार सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेपालको स्वाधीनता, स्वतन्त्रता र अस्मितामाथि आँच पुर्याउने देखिन्छ । सोही कारण आफुहरुले यो अवार्ड रोक्न निर्देशन दिएको समितिका एक सदस्यले बताए ।