‘प्रेम गीत ३’ को मुख्य नायिकामा क्रिस्टिना गुरुङ चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

चर्चित चलचित्र प्रेम गीतको फ्रेन्चाईज प्रेम गीत ३ ले लामो पर्र्खाई पश्चात नयाँ नायिका पाएको छ । चलचित्र प्रेम गीत ३ का लागि आज नयाँ नायिका चयन गरिएको हो ।

हाल अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ प्रेम गीत ३ को नायिकाको रुपमा चयन भएकी छिन् । निर्माण पक्षले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनी चयन भएको जानकारी गराएको छ ।

दर्शकबृन्द । क्रिस्टिना ती भाग्यमानी युवती हुन् । जसले २७ सय भन्दा बढी युवतीलाई उछिनेर प्रेम गीत ३ को नायिकाको रुपमा चयन हुने सौभाग्य पाएक छिन् ।

यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनका अनुसार अभिनेत्री चयनको तीन महिना लामो प्रक्रिया पछि क्रिस्टिना प्रेम गीत ३ मा चयन भएकी हुन् ।

यो चलचित्रको नायिकाको लागि आह्वान गरिएको अडिसनमा देश बिदेशबाट २७ सय १४ जनाले तस्बिर पठाएका थिए । जसबाट उत्कृष्ट २५को चयन दुई महिना अघि नै गरिएको थियो । ती २५ जनाबाट अडिसिन लिएर उत्कृष्ट ५ चयन गरिएको र त्यो उत्कृष्ट ५ बाट आईतबार क्रिस्टिनालाई नायिकामा चयन गरिएको निर्माता निर्देशक सेनले बताएका छन् ।

अमेरीकाबाट अडिसनमा सहभागीहुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमाकाम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छिन् । यो फिल्ममा चयन भएपछि अब फिल्मको तयारीमा जुट्ने भएकी छिन् ।

आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले उनको नाम सार्वजनिक गर्दा उनी साह्रै खुसी देखिईन् । अभिनेता प्रदीप खड्कासँग जोडी बनेर काम गर्न पाउँदा आफुलाई उनले भाग्यमानी महसुस गरेकी छिन् ।

अहिले छायाँकन अघि नै दर्शकको पर्खाईको फिल्म बनेको प्रेम गीत ३ का निर्माता सन्तोष सेनले नायिका चयन बारे भने,‘हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, तर पनि एकजना उत्कृष्ट चयन गर्नु पर्ने भएकाले क्रिस्टनालाई गीत पात्रका लागि छानेका हौं । अडिसनमा सहभागी हुनु भएकोमा सबैलाई सन्तोषले धन्यवाद ज्ञापन गर्दै भने, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागीहुनुभएका सबैलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद् ।’

क्रिस्टिना काठमाडौंकी युवती हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उतै पढाई गरिरहेकी कृष्टिना नेपाली चलचित्र मन पराउँछिन् । सानै देखि नायिका बन्ने सपना बोकेकी उनको यो सपना चलचित्र प्रेम गीत ३ ले पुरा गर्ने भएको छ ।

यसैबीच चलचित्र प्रेम गीत ३ का मुख्य नायक प्रदीप खड्काले आफ्नो जोडीको रुपमा चयन भएकी नायिका कृष्टिनालाई यो चलचित्रमा नायिकाको रुपमा चयन भएकोमा बधाई दिएका छन् । राम्रो नायिका चयन भएकोमा प्रदीप पनि खुसी छन् ।
चलचित्र प्रेम गीत ३ मा अब अभिनेता प्रदीप खड्कासँगै नव अभिनेत्री कृष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, खल अभिनेता सुनील थापा, नव अभिनेता मनिष राउत, अनुभव रेग्मीर, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरीसहितको मुख्य भूमिका रहने भएको छ ।

चलचित्रकालागी यी कलाकार फाइनल भएकाले अब एक कार्यक्रमबीच निर्माण घोषणासँगै फिल्मको वर्कसप पनि सुरु गर्ने निर्देशक सेनले बताएका छन् । आगामी २८ चैतमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको आउँदो दशैंपछिबाट छायाँकन सुरु हुने भएको छ ।